बारा। बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका जितपुर सिमरा उपमहानगरपालिकाका दुई वडाध्यक्षमाथि ७ दिनको म्याद थपिएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष कैमद्विन अंसारीविरुद्ध कुटपिटसम्बन्धी दाबीमा म्याद थपिएको हो।
बुधबार सिमरामा आयोजित जेनजीको विरोध प्रदर्शनका क्रममा हातपातमा संलग्न रहेको आरोप लागेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो। स्थानीय जेनजी ‘सम्राट’ साइकुस उपाध्यायले इलाका प्रहरी कार्यालय सिमरामा दिएको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। दुवै वडाध्यक्ष एमालेबाट निर्वाचित भएका हुन्।

प्रदर्शन चर्किँदै, पथलैया सडक बिहानैदेखि अवरुद्ध
‘घटनामा संलग्न अरूलाई पनि पक्राउ नगरे आन्दोलन गर्ने’ चेतावनीपछि बिहीबार बिहानैदेखि जेनजी समूहले पथलैया सडक खण्ड अवरुद्ध गरेको छ। सडक खुलाउने क्रममा प्रहरीलाई बल प्रयोग गर्नुपरेपछि केहीबेर झडप भएको स्थानीय प्रशासनले जनाएको छ।
बुधबार एमाले युवा संघको ‘राष्ट्रिय जागरण कार्यक्रम’को विरोधमा जेनजी समूहले प्रदर्शन सुरू गरेका थिए। एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा विमानस्थल आउने जानकारीपछि उनीहरूले विमानस्थल अगाडि नाराबाजी गर्दै गेटसमेत तोडफोड गरेका थिए। त्यसपछि दुबै समूहबीच झडप भई स्थिति तनावपूर्ण बनेको थियो।
कर्फ्युसँगै वार्ता प्रयास, तर सहमति टाढै
स्थिति नियन्त्रणमा लिन बुधबारैदेखि सिमरामा कर्फ्यु जारी छ। तर जेनजी समूहले प्रदर्शन रोक्न मानेका छैनन्। जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार वार्ताका लागि जेनजी प्रतिनिधिलाई कलैया बोलाए पनि उनीहरूले ‘जितपुर सिमरामै वार्ता हुनुपर्छ’ भन्ने अडान लिएका छन्।
प्रमुख जिल्ला अधिकारी मिश्रले कमान्ड पोस्ट नछोड्नुपर्ने कारण देखाउँदै वार्ता सदरमुकाम कलैयामै गर्नुपर्ने बताएका छन्।
जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दुबै पक्षसँग संवाद गरिरहेको बताए। जेनजी पक्ष भने कुटपिटमा संलग्न एमाले कार्यकर्ता अरविन्द साहलाई पनि पक्राउ गर्नुपर्ने मागमा अडिएको छ।






