सप्तरी — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईलाई मंसिर १ गते बिना पक्राउ पूर्जी मध्यरातमा गैरकानुनी रुपमा नियन्त्रणमा लिइएको विरोध गर्दै बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

संगठनका अनुसार प्रसाईंलाई कुनै पनि जाहेरी, जानकारी र बिना पक्राउ पूर्जी मध्यरात नियन्त्रणमा लिइएको भन्दै सो कार्यप्रति अभियानका अभियन्ता र शुभचिन्तक आन्दोलित बनेका छन्। ज्ञापनमा मुद्दा दर्ता गर्ने अधिकार, वैधानिक प्रक्रिया र नागरिक स्वतन्त्रतालाई बेवास्ता गरिएको आरोप लगाइएको छ।

अभियानले देश–धर्म, संस्कृति र नागरिक अधिकार संरक्षणका विषयमा उठाउँदै आएको धारणा रोक्ने प्रयास भइरहेको दाबी गर्दै, यसले आन्दोलनलाई थप कडा बनाउन बाध्य गर्ने चेतावनी दिएको छ।

ज्ञापनमा भनिएको छ—“देशभक्त, धर्मप्रेमी र राष्ट्रप्रेमी नागरिकको आवाज जबर्जस्ती दबाउने प्रयास भइरहेको छ। केन्द्रीय अध्यक्ष प्रसाईमाथि भएको गैरकानुनी कार्य हमीद्वारा कडा शब्दमा निन्दनीय छ। पक्राउ परेकालाई बिनासर्त रिहा गर्नुपर्छ।”

ज्ञापनपत्रमा अभियानका सगरमाथा अंचल संयोजक ई. प्रमोद राना, विभागीय प्रमुख सचिव जयराम यादव, सप्तरी संयोजक तथा हिन्द सम्राट सेना नेपालको जिल्ला अध्यक्ष सुरेन्द्र प्रसाद दासलगायतले हस्ताक्षर गरेका छन्।
उनहरूले आफ्ना माग सम्बोधन नभए कडा संघर्षमा उत्रिनुपर्ने बाध्यता आउने चेतावनीसमेत दिएका छन्।

संगठनले जिल्लाभरका प्रशासनिक निकायलाई यस विषयमा अवगत गराउन आग्रह गर्दै, आवश्यक परे थप आन्दोलन तथा संघर्षका कार्यक्रम अघि बढाइने उल्लेख गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर