काठमाडौं — ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर फरार रहेका रौतहटको कटहरिया नगरपालिका–१ का आकाश प्रसाद कुशवाहा मलेसियामा पक्राउ परेका छन्। एनसिबि क्वालालम्पुरको समन्वयमा पक्राउ परेका उनलाई शनिबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।
२०८० मंसिर २१ गते नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले कुशवाहाविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसयता उनी अन्तर्राष्ट्रिय स्तरमा खोजी सूचीमा रहेका थिए।

सम्बन्धित मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटका प्रहरी टोलीलाई बुझाइएकाे प्रहरीले जानकारी दिएको छ।






