काठमाडौँ, ३० कात्तिक — निर्वाचन आयोगले आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार बसेको आयोग बैठकले मनोनयनदेखि उम्मेदवारलाई चिन्ह प्रदान गर्ने प्रक्रिया सम्बन्धी सबै मितिथिति निश्चित गरेको हो।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारले माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सक्नेछन्। सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ।

मनोनयन दर्तामाथि उजुरी दिने समय माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ। त्यसपछि सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरी तथा कागजातहरूको जाँचबुझ गरी निर्णय गरिने उनले बताए।
जाँचबुझ सकिएपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ।
उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने समय माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म रहनेछ। त्यसपछि सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ।
निर्वाचन चिन्ह भने माघ ९ गते दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सम्बन्धित उम्मेदवारहरूलाई प्रदान गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार तोकिएको कार्यतालिका अनुरूप आगामी दिनमा निर्वाचनका अन्य प्राविधिक तयारीहरू पनि अघि बढाइनेछ।






