जनमत पार्टी निर्वाचन क्षेत्र नं.१ ले सप्तरीको कंचनरुपमा गरेको विरोध प्रर्दशन । तस्वीर सिके राउतको सचिवालय

सप्तरी – जनमत पार्टीले मधेस प्रदेशलाई पूर्ण स्वायत्त प्रदेशका रूपमा घोषणा गर्न माग गरेको छ। पार्टी अध्यक्ष डा. सिके राउतको सचिवालयले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत केही तस्वीरसहित स्टाटस जारी गर्दै संघीय सरकारले मधेससम्बन्धी संवैधानिक मर्म र विगतका राजनीतिक सम्झौताहरू कार्यान्वयन गर्न विफल भएको आरोप लगाएको हो।

पार्टीले मधेस प्रदेशका अधिकारहरू क्रमशः हरण भइरहेको उल्लेख गर्दै संघीय सरकारद्वारा भइरहेको प्रशासनिक तथा प्राविधिक हस्तक्षेप तत्काल रोक्न आग्रह गरेको छ।

‘सीडिओ–एसपी संघ मातहत राख्नु संघीयताको आत्माविरुद्ध’

डा. राउतको सचिवालयद्वारा सार्वजनिक वक्तव्यमा जनमत पार्टीले प्रदेश सरकारलाई पूर्ण अधिकार नदिई प्रमुख जिल्ला अधिकारी (सीडिओ) र प्रहरी उपरीक्षक (एसपी) जस्ता प्रमुख प्रशासनिक तथा सुरक्षा संरचनालाई संघीय मातहत राख्नु संघीयताको मूल भावनाविपरीत रहेको स्पष्ट पारेको छ।
वक्तव्यमा भनिएको छ,
“संघको सीडिओ–एसपी फिर्ता गर। प्रहरी र कर्मचारी पूर्ण रूपमा प्रदेश मातहत कायम गर।”

पार्टीले मधेसमा ‘दमन, शोषण र राजनीतिक हस्तक्षेप’ जारी रहेको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने माग पनि दोहोर्‍याएको छ।

जनमत पार्टीले स्थानीय तहलाई समेत प्रदेश मातहत राख्ने व्यवस्थालाई तत्काल लागू गर्न आग्रह गर्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा स्रोत–साधन व्यवस्थापनका क्षेत्रमा प्रदेशलाई पूर्ण स्वायत्तता प्रदान गर्नुपर्नेमा जोड दिएको छ।

वक्तव्यमा भनिएको छ,
“संघीय अधिकार प्रदेशका हातबाट खोसिने कार्य अस्वीकार्य छ। प्रदेशलाई स्वायत्त रूपमा काम गर्न दिइएन भने संघीयता कमजोर बन्छ।”

सचिवालयले डा. सीके राउतको नेतृत्वमा मधेसका राजनीतिक अधिकार, पहिचान र स्वायत्ततासम्बन्धी मुद्दा अझ सशक्त रूपमा उठाइने जनाएको छ।
वक्तव्यको अन्त्यमा “जनमत पार्टी जिन्दाबाद, डा. सीके राउत जिन्दाबाद” भन्ने नारासहित आगामी आन्दोलनलाई मजबुत बनाइने संकेत गरिएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर