जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव : ‘आर्मी–सशस्त्र–प्रहरी सबै सुरक्षा छ, तर पनि सुरक्षा थ्रेट छ’
काठमाडौँ — मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई गम्भीर सुरक्षा चुनौती रहेको बताएका छन्। जनकपुरमा शनिबार मधेसबासीका नाममा सम्बोधन गर्दै उनले सुरक्षाकर्मीहरूले नै आफूलाई ‘थ्रेट’ रहेको औपचारिक रुपमा जानकारी गराएको उल्लेख गरे।

मुख्यमन्त्री यादवले भने, “आर्मीको सुरक्षा छ, सशस्त्र प्रहरीको सुरक्षा छ, नेपाल प्रहरीको सुरक्षा छ, तर पनि मलाई सुरक्षा थ्रेट छ।”
उनका अनुसार आन्दोलनकारी समूहले आफूलाई लक्ष्य बनाएको संकेत सुरक्षातन्त्रले दिइरहेको छ।
यादव मुख्यमन्त्रीमा नियुक्त भएको तरिका विवादित बनेपछि प्रदेशसभामा अन्य दलहरूको विरोध चर्किएको छ। उनले दाबी प्रस्तुत गर्न आह्वान नै नगरिकन आफूलाई मुख्यमन्त्री बनाइएको भन्दै असन्तुष्ट दलहरूले प्रदेशमा तनावको वातावरण बनाएको आरोपसमेत लगाए।
‘म सुरक्षित छैन भने अन्य दलका माननीय कसरी सुरक्षित हुने ?’
यादवले सुरक्षा चुनौती आफूलाई मात्रै नभई अन्य दलका नेताहरूसमेत प्रभावित बनाउन सक्ने चेतावनी दिए।
उनले भने, “सुरक्षा थ्रेट मलाई जनताबाट होइन, आन्दोलनकारीबाट हो। म सुरक्षित छैन भने अन्य दलका माननीयहरू सुरक्षित हुन्छन् भनेर कसरी भन्न सकिन्छ ?”
उनका अनुसार आफूलाई आक्रमण गर्ने प्रयास भयो भने त्यसको प्रभाव सबै दल र नेताहरूमा पर्नसक्छ।
मुख्यमन्त्री यादवले मधेसमा आन्दोलन भड्किन भारतीय काउन्सिलर अफिसका प्रतिनिधिहरू सक्रिय रहेको गम्भीर आरोप लगाए।
उनको भनाइअनुसार वीरगञ्जस्थित भारतीय काउन्सिलर अफिसका प्रतिनिधिहरू सिधै मधेसका विभिन्न दलसँग सम्पर्कमा रहेर ‘दबाब र धम्की’ दिएको दाबी छ।
यादवले भने,“दलहरू फुटाउने, जुटाउने, नेताहरूलाई थ्रेट गर्ने काम भारतीय पक्षबाट भइरहेको छ। यस्तो गतिविधिले सहमति बनाउने र भंग गर्ने वातावरण दैनिक रुपमा सिर्जना हुँदै आएको छ।”
यादवका अनुसार भारतीय पक्षको दबाब र आन्दोलनकारीहरूको रणनीतिका कारण प्रदेशमा वार्ता सहज वातावरण निर्माण हुन सकेको छैन।
उनले सबै राजनीतिक दललाई संवैधानिक बाटो, संवाद र शान्तिपूर्ण समाधानतर्फ उन्मुख हुन आग्रह गर्दै मधेसमा अस्थिरता बढाउने गतिविधि प्रति सचेत रहन आग्रह गरे।






