सप्तरी — प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको टोली शुक्रबार सप्तरी जिल्ला अदालत पुगेको छ। प्रमुख रजिस्ट्रार सहितको टोलीलाई अदालतका स्रेस्तेदार श्यामहरि अधिकारीले स्वागत गर्दै अदालतको वर्तमान अवस्था, पुनर्निर्माणको प्रगति सहितका विषयमा जानकारी गराएका हुन्।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा जिल्ला अदालत भवन गम्भीर रूपमा क्षतिग्रस्त भएका कारण न्यायिक सेवा अवरुद्ध मात्र भएन, नागरिकको भरोसा पनि असर परेको अधिकारीले बताए। उनका अनुसार न्यायाधीश, अदालत कर्मचारी, जिल्ला अदालत बार र सुरक्षा निकायको सक्रियताले अदालतलाई पुनः सामान्य सञ्चालनको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

अदालत पुनर्निर्माणको काम तीव्रगतिमा अघि बढिरहेका बेला उच्च पदाधिकारीको उपस्थितिले थप ऊर्जा र स्पष्ट दिशानिर्देश प्रदान गरेको अधिकारीले उल्लेख गरे। “अदालतबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धि, सुशासन प्रवर्द्धन र प्रविधिमैत्री वातावरण विस्तारका लागि प्राप्त मार्गदर्शन प्रेरणादायी छ,” उनले भने।

प्रधानन्यायाधीश राउतप्रति हार्दिक सम्मान व्यक्त गर्दै स्रेस्तेदार अधिकारीले न्याय क्षेत्रमा सबै पक्षको साझा प्रतिबद्धताले अदालत पुनः सुचारु र विश्वसनीय बन्ने विश्वास व्यक्त गरे।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर