काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव तथा पूर्व मन्त्री शैलेन्द्र प्रसाद साहले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उठाएको ‘स्वायत्त मधेश प्रदेश’को मागबारे भइरहेको आलोचना र विरोधको जवाफमा उक्त मागलाई समान अधिकार र आत्मसम्मानको वैध दाबीका रूपमा व्याख्या गरेका छन्।

साहका अनुसार मधेशको स्वायत्तताको मागलाई ‘विखण्डनको प्रयास’ भनेर बुझ्नु गलत धारणा हो। उनले भने, “स्वायत्त मधेशको माग विखण्डन होइन, यो समान अधिकार, आत्मसम्मान र पहिचानको वैध दाबी हो।”

उनले मधेशी समुदायमाथि प्रायः “विखण्डनकारी” भन्ने आरोप लगाउने प्रवृत्तिको पनि आलोचना गरे। “अधिकार दिन नचाहनेहरूले अधिकार माग्नेलाई विखण्डनकारी देख्नु स्वाभाविक बनाइदिन्छ,” उनले भने, “जब कसैले आफ्नो हक र अधिकारको माग गर्छ, अधिकार नदिन चाहनेहरूको सबैभन्दा सजिलो हतियार यही शब्द हुन्छ — ‘विखण्डनकारी।’”

सचिव साहका अनुसार यस्तो आरोपपछि समुदायभित्र एकता अझ बलियो बन्छ र प्रतिरोधको स्वर बुलन्द हुन्छ। उनले थपे, “विखण्डन कसैले चाहेर गर्दैन। जब अवस्था सह्य रहन्छ, तब कुनै पनि समुदाय सहजै विखण्डन चाहँदैन। तर जब अन्याय, उपेक्षा र अपमानको सीमा नाघ्छ, तब विखण्डन रोक्ने शक्ति रहँदैन।”

उनका अनुसार दुई–अढाई सय वर्षदेखि एउटै देशभित्र बस्दै आएका मधेशी समुदायले निरन्तर असमानता, उपेक्षा र अपमान भोग्दै आएको अनुभव छ। “जब अस्तित्वमै संकट उत्पन्न हुन्छ, जब आफ्नो पहिचान र संस्कृतिलाई मेटाउने प्रयास हुन्छ, तब समुदाय स्वतन्त्रताको बाटो रोज्नु स्वाभाविक हुन्छ,” उनले भने।

साहले राज्यले समान व्यवहार नगरेसम्म र सबै नागरिकका अधिकार सुनिश्चित नगरेसम्म विभाजनका आशंका हट्न नसक्ने पनि टिप्पणी गरे।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर