राजविराज, कात्तिक २२ । सरकारले राजविराजमा स्थापित करदात सेवा कार्यालयलाई लहान सार्ने निर्णय गरेपछि यसको विरोधमा उद्योग वाणिज्य संघ, सप्तरीको अगुवाइमा आजदेखि धर्ना र हस्ताक्षर अभियान सुरु भएको छ।
राजविराजस्थित गजेन्द्र चौकमा आयोजित कार्यक्रममा व्यापारी, उद्योगी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


अभियानका क्रममा कात्तिक २२ गतेदेखि २७ गतेसम्म निरन्तर धर्ना, हस्ताक्षर संकलन र सचेतना कार्यक्रम सञ्चालन हुने संघले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय नेता गजेन्द्र मण्डल र जिल्ला अध्यक्ष दीपेन्द्र चौधरीले पनि सहभागिता जनाउँदै आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेका छन्।
नेता मण्डलले भने, “राजविराज प्रशासनिक र व्यापारिक हिसाबले केन्द्र हो। यहाँको करदात सेवा कार्यालय लहान सार्ने निर्णय अन्यायपूर्ण र जनविरोधी छ। सरकारले तुरुन्त निर्णय फिर्ता लिनुपर्छ।”
त्यस्तै जिल्ला अध्यक्ष चौधरीले भने, “करदाता र व्यापारीहरूको सहज पहुँचमा रहेको कार्यालय हटाइए व्यवसायिक वातावरणमा नकारात्मक असर पर्नेछ।”
उद्योग वाणिज्य संघ, सप्तरीले चेतावनी दिएको छ— यदि माग पूरा नभए आन्दोलनलाई अझ सशक्तरूप दिइनेछ।







