एसपी यादव/सर्लाही, कार्तिक २२ गते । भारतको बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधानसभा निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउनका लागि सर्लाहीको नेपाल-भारत सीमानाका आगामी तीन दिनसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि कार्तिक २५ गते मंगलबार साँझ ६ बजेसम्म नेपाल-भारत सीमानाका ‘सिल’ गर्ने निर्णय गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार, बिहारमा कार्तिक २५ गते (नोभेम्बर ११) हुने निर्वाचनका कारण नेपाल-भारत सीमानाका क्षेत्रमा आवतजावत पूर्ण रूपमा निषेध गरिनेछ । “चुनाव अवधिमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिनका लागि सीमानाकामा थप कडाइ समेत गरिनेछ,” प्रजिअ कडरियाले बताए ।
सिमानाकामा आकस्मिक अवस्थाका बाहेक कुनै पनि व्यक्ति वा सवारी साधनलाई सीमा पार गर्न दिइने छैन ।
नेपाल र भारतबीच निर्वाचन अवधिमा सीमानाका बन्द गर्ने प्रचलन विगतदेखि नै रहँदै आएको छ । यसपटक पनि सोही परम्परालाई निरन्तरता दिँदै सीमानाका ७२ घण्टासम्म ‘सिल’ गरिँदैछ । सीमानाकामा अवैध कारोबार, ओसारपसार र शंकास्पद गतिविधिमा संलग्न हुनेहरूमाथि कडा निगरानी राखिने तयारी समेत गरिएको छ ।






