राजविराज,२१ कार्तिक — सप्तरीको राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारको निर्णयविरुद्ध शुक्रबार स्थानीय व्यापारी व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन्।
राजविराज, भारदहलगायतका प्रमुख बजार क्षेत्रका व्यवसायीहरूले बिहानैदेखि आफ्ना व्यापारिक प्रतिष्ठान बन्द गरी सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले कार्यालय अन्यत्र सार्ने निर्णय फिर्ता गर्न माग गरेका छन्।

प्रदर्शनकारीहरूले सडकमा टायर बालेर नाराबाजी गरेका थिए। मन्त्री परिषदको निर्णय फिर्ता गर्नुपर्ने माग गर्दै उनीहरूले प्रधानमन्त्री शुशिला कार्की विरुद्ध पनि नाराबाजी गरेका छन्।
२०७५ सालमा स्थापना गरिएको राजविराज करदाता सेवा कार्यालयबाट हाल ७२ हजारभन्दा बढी करदाताले सेवा लिइरहेका छन्। कार्यालयले आव २०८१/८२ मा १ अर्ब रुपैयाँ राजस्व असुली गरेको र चालु आव २०८२/८३ मा १ अर्ब ४० लाख रुपैयाँ असुली गर्ने लक्ष्य राखेको छ।
उक्त कार्यालयमा एक जना अधिकृत, एक जना सुब्बा, दुई जना कम्प्युटर अपरेटर र छ जना करार कर्मचारी कार्यरत छन्।
नेपाल सरकारको मन्त्री परिषद्ले हालै देशभर रहेका ३७ वटा करदाता सेवा कार्यालय खारेज गरी आन्तरिक राजस्व कार्यालयबाट सेवा प्रवाह गर्ने निर्णय गरेको हो।
यसअघि बिहीबार पनि राजविराजमा युवा, विद्यार्थी र उद्योगी व्यवसायीहरूले सो निर्णयको विरोधमा बृहत प्रदर्शन गरेका थिए।






