राजविराज,२० कार्तिक– सप्तरी उद्योग वाणिज्य संघ राजविराजले करदाता सेवा कार्यालय राजविराजलाई यथास्थितिमा राख्न माग गरेको छ। संघले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री शुशिला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो।

अर्थमन्त्रीको निर्देशनअनुसार आन्तरिक राजस्व विभाग, लाजिम्पाट काठमाडौंमा करदाता सेवा कार्यालय सार्ने तयारी भइरहेकामा संघले आपत्ति जनाएको हो। संघका अध्यक्ष लालबाबु अग्रवालको नेतृत्वमा कार्यसमितिका पदाधिकारी र स्थानीय उद्योगी व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा तत्कालीन सगरमाथा अञ्चलको सदरमुकाम राजविराजमा स्थापना कालदेखि नै अञ्चलभित्रका करदाताले सो कार्यालयबाट सेवा लिँदै आएको उल्लेख गरिएको छ। जनयुद्धकालमा कर कार्यालय आन्तरिक राजस्व कार्यालय लहानमा गाभिँदा करदाताहरू मर्कामा परेको र ठूला प्रयासपछि २०७५ सालमा पुनः राजविराजमा स्थापना भएको कारण कार्यालयलाई यथास्थितिमा राख्न आग्रह गरिएको छ।

२०७५ सालमा स्थापना भएको सो कार्यालयले आव २०८१/८२ मा १ अर्ब रुपैयाँ राजस्व असुली गरेको छ भने चालु आव २०८२/८३ मा १ अर्ब ४० लाख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएको छ। कार्यालयमा हाल १ जना अधिकृत, १ जना सुब्बा, २ जना कम्प्युटर अपरेटर र ६ जना करार कर्मचारी कार्यरत छन्।

नेपाल सरकारको मन्त्री परिषदले हालै देशभरका ३७ वटा करदाता सेवा कार्यालय खारेज गरी आन्तरिक राजस्व कार्यालयमार्फत सेवा प्रवाह गर्ने निर्णय गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर