काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकतासम्बन्धी ९ वटा प्रस्ताव पारित गरेको छ। आज बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित एकता सम्मेलनले ९ वटा प्रस्ताव पारित गरेको हो।
ती प्रस्तावहरू नेता वर्षमान पुनले पढेर सुनाएका थिए। संयुक्त राष्ट्रिय सम्मेलनले घोषणापत्र र अन्तरिम विधान २०८२ पनि अनुमोदन गरेको छ।

त्यस्तै पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपालको नाम अनुमोदन भएको छ।
यस्ता छन् ९ बुँदे प्रस्तावहरू
१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ।
२. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ।
३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ।
४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनकाे काम गर्ने, यस अगाडी सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ।
५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ।
६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछ।
७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ।
८. नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ।
९. नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ।






