धरान। अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्ड अन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाई नजिक करिब १० मिटर सडक भासिँदा कोशी लोकमार्गमा यातायात प्रभावित भएको छ।

विहिवार बिहानदेखि निरन्तर वर्षापछि सडकको एक भाग भासिँदा दुईतर्फी सवारी सञ्चालन ठप्प बनेको हो। अहिले साना सवारी साधनहरूलाई एकतर्फी सञ्चालन गर्न दिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। ठूला सवारी साधन भने तत्कालका लागि रोकिनु परेको छ।

सडक भासिँदा जोखिम बढेको भन्दै प्रहरी र स्थानीयवासीले यात्रुहरूलाई सतर्क रहन आग्रह गरेका छन्। सडक मर्मतका लागि डिभिजन सडक कार्यालय धरानको प्राविधिक टोली स्थलतर्फ गएको जनाएको छ।

स्थानीयका अनुसार निरन्तर वर्षा जारी रहेकाले सडक थप भासिने जोखिम कायम रहेको छ। वर्षा रोकिएलगत्तै मर्मत कार्य सुरु गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर