सप्तरी — नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देही, बुटवलबाट सरुवा भई जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ, सप्तरी आएका प्रहरी निरीक्षक उमेश कुमार अमात्यलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीले स्वागत गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा बिहीबार आयोजित एक कार्यक्रमका बीच निरीक्षक अमात्यलाई स्वागत गरिएको हो। कार्यक्रममा बोल्दै एसपी केसीले अमात्यलाई नयाँ कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना दिएका थिए। उनले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै जनमैत्री सेवा प्रवाहमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

स्वागत कार्यक्रममा सहभागी अधिकारीहरूले राजमार्गमा बढ्दो सवारी साधनको चाप, दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको कडाइका विषयमा छलफल गरेका थिए। उनीहरूले स्थानीय तह, यातायात व्यवसायी र सर्वसाधारणबीच समन्वयात्मक काम गरेर ट्राफिक सुरक्षामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।
प्रहरी निरीक्षक अमात्यले पनि आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित र सेवामुखी बनाउने योजना सार्वजनिक गरे।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका अधिकारी, ट्राफिक प्रहरी र जिल्ला स्थित रहेको विभिन्न प्रहरी युनिटका इन्चार्जहरुको उपस्थिति रहेको थियो।






