काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गर्न लागेकी छन्। केही दिनदेखि चलिरहेको तीव्र राजनीतिक परामर्शपछि उनले अन्तरिम मन्त्रिपरिषद्‌मा थप चार जना मन्त्री समावेश गर्न लागेकी हुन्।

बालुवाटार स्रोतका अनुसार डा. सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनुवार र बब्लु गुप्ता नयाँ मन्त्री बन्न लागेका छन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सुनुवारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

नयाँ मन्त्री बन्न लागेकामध्ये गौतम पूर्व स्वास्थ्य सचिव हुन् भने श्रेष्ठ सांस्कृतिक अभियन्ता, सुनुवार दलित अभियन्ता र गुप्ता ‘हन्ड्रेड ग्रुप’का संस्थापक हुन्। शनिबार जेन–जी नेताहरूले मन्त्रीका लागि सात जनाको नाम सिफारिस गरे पनि तीमध्ये गुप्ता मात्रै अन्तिम सूचीमा परेका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आइतबार दिउँसो साढे २ बजेका लागि तय गरिएको छ।

यसअघि, ७ असोजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, जलवायु तथा कृषि विज्ञ मदनप्रसाद परियार र पत्रकार जगदीश खरेल मन्त्री नियुक्त भएका थिए।

जेन–जी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्। त्यसपछि उनले ३० भदौमा रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृहमन्त्री, र कुलमान घिसिङलाई भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री नियुक्त गरेकी थिइन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर