सप्तरी — मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक तथा सांस्कृतिक पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यो पर्वको रौनक अहिले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सुनसरी हुँदै काठमाडौं उपत्यकासम्म फैलिएको छ।
तराईका सहर–बजारदेखि राजधानीका पोखरी र नदीघाटसम्म अहिले छठ गीत, खरना सामग्री र व्रतालुहरूको तयारीले वातावरण धर्ममय बनेको छ।

सप्तरीको राजविराज, कन्चनपुर, रुपनी, दौलपुर,फतेपुर तिलाठी र हनुमाननगर क्षेत्रमा रहेको सप्तकोशी नदी, त्यस्तै सर्लाहीको बागमती, लगायतका नदीघाट र पोखरीहरूमा सरसफाइ तथा सजावटको अन्तिम तयारी भइरहेको छ।
हनुमाननगरस्थित छठघाट व्यवस्थापन समितिका अध्यक्ष नवलकिशोर यादवका अनुसार यो वर्ष घाटहरूमा पर्याप्त प्रकाश, सुरक्षा र पानीको व्यवस्था गरिएको छ।
‘यो वर्ष सप्तरीका विभिन्न घाटमा झण्डै १५ हजारभन्दा बढीले अर्घ दिने अनुमान गरिएको छ।

जनकपुरदेखि लहान र इनरुवासम्म तयारी
धनुषाको जनकपुरधामस्थित गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुषसागर र मटकोरर्वा पोखरीमा झिलिमिली बत्ती टाँस्ने र पण्डाल तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतका वर्षभन्दा बढी तयारी गरिएको बताए। ‘सफा घाट, प्रकाशको राम्रो व्यवस्था र भक्तजनका लागि सहज पहुँच बनाइएको छ,’ उनले भने।
सिराहाको लहान, गोलबजार र मिर्चैयामा पनि पोखरी र नदीघाटहरूमा सरसफाइ र बत्ती टाँस्ने काम जारी छ।
महोत्तरीको जलेश्वर र रामगोपालपुरमा छठ गीत गुञ्जिरहेका छन् भने सुनसरीको इनरुवा र दुहवी क्षेत्रका नदीघाटहरूमा पनि भक्तजनको भीड बढ्दै गएको छ।
देशभर छठको उल्लास
तराईमा मात्रै नभई काठमाडौं उपत्यकासहित देशका सहरहरूमा पनि छठ पूजाको रौनक फैलिएको छ।
काठमाडौंको गुह्येश्वरी, कपन, बालाजु, कलंकी र नागढुंगाजस्ता क्षेत्रमा रहेका तलाउ र खोल्सामा पनि व्रतालुहरू अघ्र्य दिने तयारीमा जुटेका छन्।

बजारमा भीड, केराको माग उच्च
छठ पर्व नजिकिएसँगै बजारमा केरा, उखु, स्याउ, अदुवा, ठेकुवा बनाउने पिठो र बाँस–माटोका सामग्री किन्ने भीड बढेको छ।
सप्तरी, जनकपुर र सिराहाका बजारमा अहिले बिहानदेखि नै महिलाहरू केराको घरी, माटोको घैँटो, हात्ती, कलश, सूप र कनसुपतीजस्ता सामग्री खरिद गर्न व्यस्त छन्।
बाँस र माटोबाट बनेका वस्तुहरू शुद्ध मानिने भएकाले यसको माग विगतका वर्षभन्दा बढेको व्यापारीहरूले बताएका छन्।
छठ मिथिलाञ्चलको आत्मनिर्भर पर्व मानिन्छ। आफ्नै खेतबारीमा उत्पादन भएको गहुँ, चामल र पिठोबाट पूजा सामग्री बनाइन्छ।
व्रतालुहरूले दुई दिन विना अन्नपानी भोकै बसेर सूर्यदेवको आराधना गर्ने यस पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो।
दोस्रो दिन आइतबार ‘खरना’ गरी राति खीर चढाइन्छ। तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी चारदिने छठ पर्व सम्पन्न गरिन्छ।






