काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरी सबै पक्षलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सम्भावित प्रदर्शनतर्फ इंगित गर्दै जिम्मेवार रहन आग्रह गरेका हुन्।

गृहमन्त्री अर्यालले विभिन्न समूहहरूले प्रदर्शनका लागि तयारी गरेको जानकारी प्राप्त भएको बताए। उनले भने, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्।”
उनका अनुसार राजनीतिक मुद्दाको सम्बोधनका लागि सरकार संवादको ढोका खुला राख्नेछ। “सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौं। संवादबाटै समस्याको समाधान चाहन्छौं,” उनले भने।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग बालुवाटारमा उच्चस्तरीय बैठक गरेकी थिइन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशको वर्तमान सुरक्षा अवस्था, सम्भावित चुनौती र आगामी तयारीबारे विस्तृत छलफल भएको थियो।






