काठमाडौँ— प्रधानमन्त्री सुशीला कार्कीले देशको सुरक्षा अवस्थाबारे समीक्षा गर्न शनिबार चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेकी छन्।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार करिब दुई घण्टा चलेको बैठकमा हालको सुरक्षा अवस्था, सम्भावित जोखिम तथा आगामी दिनमा अपनाउनुपर्ने तयारीका विषयमा विस्तृत छलफल भएको थियो।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो निकायको मूल्यांकन र विश्लेषण प्रस्तुत गरेका थिए। बैठकमा देशको आन्तरिक सुरक्षा स्थिति, संवेदनशील क्षेत्र र सम्भावित चुनौतीबारे पनि गम्भीर समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।






