भारत आन्ध्र प्रदेशको कर्नूल नजिकै शुक्रबार बिहान एक यात्रु बसमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बस बेङ्गलुरु जाँदै गर्दा राष्ट्रिय राजमार्ग ४४ मा मोटरसाइकलसँग ठोक्किएपछि आगलागी भएको हो ।

कावेरी ट्राभल्सको सो बसमा करिब ४४ जना यात्रु सवार थिए । ठोक्किएपछि मोटरसाइकल बसमुनि फसेर इन्धन ट्यांकीमा विस्फोट हुँदा केही मिनेटमै बसभरि आगो फैलिएको प्रहरीको प्रारम्भिक भनाइ छ ।

दुर्घटनाको समयमा धेरैजना यात्रु निद्रामा थिए । केहीले झ्याल तोडेर निस्कन सफल भए पनि धेरै जना भित्रै फसे । आगलागी यति तीव्र थियो कि केही मिनेटमै बस खरानीमा परिणत भयो ।

घाइते यात्रुहरूलाई कर्नूलको सरकारी अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनापछि बस चालक फरार छन् भने प्रहरीले उनको खोजी शुरू गरेको छ ।

प्रहरीका अनुसार हैदरावादबाट बेङ्गलुरु जाँदै गरेको कावेरी ट्राभल्सको बस बिहान करिब साढे ३ बजे कर्नूल नजिकैको चिन्नेतेकुर गाउँमा मोटरसाइकलसँग ठोक्किएको थियो ।

स्थानीयवासीले उद्धार प्रयास थालेका थिए, तर आगो तीव्र भएपछि बस पूरै खरानी भयो । कर्नूलका दमकलकर्मीहरूले चारवटा गाडी प्रयोग गरी आगो निभाए ।

यसैबीच, भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरेकी छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले पनि दुःख प्रकट गर्दै दुबईबाट नै प्रमुख सचिवलाई तत्काल स्थलमा पुग्न निर्देशन दिएका छन् । उनले घाइतेहरूलाई उत्कृष्ट उपचार दिलाउन र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आदेश दिएका छन् ।

राज्यका यातायात मन्त्री मण्डिपल्ली रामप्रसाद रेड्डी घटनास्थल पुगेका छन् । उनले यति धेरै मानिसको यस्तो दु:खद निधन अत्यन्त पीडादायी भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्व मुख्यमन्त्री वाई. एस. जगन मोहन रेड्डीले पनि गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारलाई राहत र आर्थिक सहयोग दिन सरकारसँग आग्रह गरेका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर