काठमाडौं — जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा (माओवादी केन्द्र) ले मधेशमा शक्ति प्रदर्शन गरेको छ ।

तिहार, छठ र नेपाल संवत् ११४६ को अवसर पारेर महोत्तरीको रामगोपालपुरमा बुधबार माओवादी केन्द्रले शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रमले राजनीतिक रूपमा केही समयदेखि सुस्त देखिएको मधेशलाई फेरि राजनीतिक ताप दिएको छ ।

 

पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता मातृका यादवले सम्बोधन गरे ।

आन्दोलनपछि ठूलै भीड जम्मा गरेर सभा गर्न नसकेको अवस्थामा माओवादी केन्द्रको यो सभा मधेशमै पहिलो ठूलो राजनीतिक जमघट हो । पार्टीले त्यसलाई चुनावी सुरुवातको सन्देश दिन प्रयत्न गरेको छ ।

 

महोत्तरी जिल्लाका माओवादी केन्द्रका निवर्तमान इन्चार्ज प्रकाश पोखरेलका अनुसार, जेनजी आन्दोलनपछि ठूला दलहरू सभा–सम्मेलनमै अल्मलिएका बेला माओवादी केन्द्रले भने चुनावको तयारीसँगै जनस्तरसम्म पुग्ने अभियानको थालनी गरेको छ ।

 

‘हामी जेनजी आन्दोलनपछि मधेशमा ठूलो सभा गर्ने पहिलो पार्टी हौं,’ पोखरेल भन्छन्, ‘यो केवल शुभकामना आदानप्रदान मात्र होइन, चुनावी सन्देश प्रवाह गर्ने रणनीतिक कार्यक्रम पनि हो ।’

चुनावी रेखाचित्र

नेपाली कांग्रेस र नेकपा (एमाले) चुनावको मिति वा सम्भावित राजनीतिक विकल्पबारे अझै निर्णयमा पुग्न सकेका छैनन् । एमालेले तोकिएको मिति (फागुन २१) मा चुनाव सम्भव नहुने ठहर गर्दै संसद् पुनःस्थापनाको लाइन समातेको छ भने कांग्रेसले समेत स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । माओवादी केन्द्र भने असोज ९ गते सम्पन्न केन्द्रीय समिति बैठकबाटै चुनावको पक्षमा उभिएको छ ।

प्रचण्डले सभामा स्पष्ट शब्दमा भने, ‘हाम्रो मूल ध्यान चुनावमा छ, यसमा हामी स्पष्ट छौं ।’ सभामार्फत उनले चुनावी तयारीका लागि कार्यकर्तालाई उर्जावान् ढंगमा परिचालन गर्न निर्देशनसमेत दिए ।

जेनजीप्रति प्रचण्डको आग्रह र चेतावनी

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढालेपछि मुलुकमा अन्तरिम सरकार गठन भएको छ । सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने कार्यादेश पाएको छ । तर चुनाव हुन्छ कि हुँदैन भन्ने बहस अझै चर्किरहेको छ ।

यही बेलामा प्रचण्डले जेनजी आन्दोलनका युवालाई खुलेरै सहकार्यको प्रस्ताव गर्दै भने, ‘अब जेनजी युवाहरू र माओवादी मिलेर चुनाव लड्नुपर्छ ।’

उनले भावनात्मक रुपमा जेनजीको मागलाई समर्थन गर्दै, ‘हामीले उठाएका मुद्दा समान छन् । पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार नियन्त्रण र समावेशी लोकतन्त्र हाम्रो साझा एजेन्डा हो,’ भन्दै युवालाई पार्टीसँग मिल्न आह्वान गरे ।

तर, उनले सहकार्यको सन्देश मात्र दिएनन्, चेतावनीको शैलीमा भने, ‘जेनजी युवाहरूले मित्र र दुश्मन चिन्न सक्नुपर्छ । आफ्नो अभिभावक र मित्रलाई दुश्मन ठान्ने हो भने त्योभन्दा ठूलो दुर्भाग्य केही हुँदैन ।’

‘६० प्रतिशत जेनजी माओवादीमा’

रामगोपालपुरको सभामा ७ सयभन्दा बढी अन्य दलका नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको दाबी गरिएको छ । तीमध्ये ६० प्रतिशतजति जेनजी आन्दोलनसँग जोडिएका युवाहरू भएको प्रचण्डले दाबी गरे ।

‘आजको कार्यक्रममा खादा लगाउनै नसक्ने गरी भीड थियो । तीमध्ये ६० प्रतिशत जेनजी थिए,’ उनले भने, ‘यसले देखाउँछ– अब जेनजी र माओवादी मिलेर देश परिवर्तनको अभियानमा लाग्नुपर्छ ।’

वामपन्थी एकता र चुनावी मोर्चा

प्रचण्डले वामपन्थी एकताको सन्देशसमेत दिए । उनका अनुसार सम्भव भए वामपन्थी पार्टीबीच एकता, नभए सहकार्य गर्ने नीति लिएको माओवादीले कांग्रेस र एमालेमा असन्तुष्ट कार्यकर्तालाई समेत पार्टीमा समेट्ने रणनीति बनाएको छ ।

‘हाम्रो अनुभव र युवाको उत्साहलाई एकीकृत गर्दै देशलाई संविधान संशोधनको नयाँ युगतिर लैजान सकिन्छ,’ उनले भने, ‘यो काम चुनावमार्फत मात्र सम्भव छ ।’

चुनावी अभियानको सुरुवात

माओवादी केन्द्रका नेता अग्नि सापकोटा अनुसार अब देशव्यापी चुनाव केन्द्रित अभियान सञ्चालन गरिनेछ । ‘अहिले प्रदेश र जिल्ला स्तरमा कार्यक्रम भइरहेका छन् । छठपछिनै केन्द्रबाट कार्यक्रमको खाका बनाउने तयारी छ,’ उनले भने ।

माओवादी नेता देव गुरुङले जेनजी आन्दोलनपछि भएका राजनीतिक सहमति र निर्णयलाई संविधानको ट्रयाकमा ल्याउन चुनाव आवश्यक रहेको बताए । ‘संसद् पुनर्स्थापनातिर जानु संक्रमण लम्ब्याउने मात्रै हो,’ गुरुङ भन्छन्, ‘चुनाव नै संविधान संशोधन र सुधारको सहज बाटो हो ।’

 

मधेशको सभाले माओवादी केन्द्रले चुनावी यात्राको थालनी गरिसकेको संकेत दिएको छ । चुनावको माध्यमबाट जनताको मत लिएर शासन सत्तामा पुग्ने लक्ष्यसहित माओवादी अब जेनजीसँग मिलेर अगाडि बढ्न चाहन्छ । चुनावको मिति नजिकिँदै गर्दा प्रचण्ड नेतृत्वले प्रयोग गरेको फकाउने र तर्साउने शैलीको रणनीति अब प्रभावकारी हुन्छ वा हुँदैन, त्यसको परीक्षण यही निर्वाचनले गर्नेछ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर