दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डले न्युजिल्यान्डलाई उसैको मैदानमा ६५ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
यी दुई टोलीबीचको पहिलो खेल भने अनिर्णित रुपमा सकिएको थियो । शृंखलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ । इङ्ल्यान्ड उक्तमा शृंखला जित्ने दाउमा हुनेछ भने न्युजिल्यान्ड शृंखला बराबरीमा टुङ्ग्याउने धुनमा ।

क्राइस्टचर्चमा खेलिएको दोस्रो खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले भने १८ ओभरमै अलआउट हुनुअघि एक सय ७१ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि ओपनर फिल साल्टले ८५ रनको योगदान गरे । उनले केवल ५६ बलमा एक छक्का र ११ चौका पनि प्रहार गरे ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान ह्यारी ब्रुकले पनि ७८ रनको योगदान गरे । उनले केवल ३५ बलको सामना गरी पाँच छक्का र ६ चौका पनि हिर्काए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए ।
जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन इङ्ल्यान्डका बलर आदिन रसिद एक्लैले चार विकेट लिए । उनले चार ओभरमा ३२ रन खर्चिए । लुक उड, ब्राइडन कार्स र लियाम दावसनले पनि दुई–दुई विकेट हात पारे ।
न्युजिल्यान्डका लागि ओपनर टिम सिफर्टले सर्वाधिक ३९ रन बनाए । कप्तान मिचेल सान्टनरले पनि टोलीको खातामा ३६ रन थपे । अन्य ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।






