काठमाडौं — नेपाल प्रहरीमा पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा तिहारलगत्तै हुने भएका छन् । हाल चार डीआईजीको दरबन्दी रिक्त रहे पनि कात्तिक १२ गतेदेखि अर्को दरबन्दी पनि खाली हुँदैछ । त्यसपछि सरकारले एकैपटक पाँच जना डीआईजी बढुवाको तयारी गरेको छ ।
अपराध अनुसन्धान निर्देशनालयमा कार्यरत डीआईजी सञ्जिव शर्मा दास १२ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका छन् । दरबन्दी रिक्त हुनु एक साताअघि नै बढुवाका लागि सिफारिस गर्न सकिने कानुनी व्यवस्था भएकाले गृह मन्त्रालयले त्यसका लागि तयारी सुरु गरेको स्रोतले जनाएको छ । सिफारिस भएको एक सातापछि मात्र गृहमन्त्रीले बढुवाको निर्णय गर्ने प्रावधान छ ।

यसअघि प्रशासन विभागका डीआईजी सुशील सिंह राठौर, मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालयकुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका थिए । त्यसपछि सरकारले मधेसमा गोबिन्द थपलिया र सुदूरपश्चिममा ओमबहादुर रानालाई डीआईजीको जिम्मेवारी तोकेको छ ।
अब बढुवा हुने डीआईजीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी महानिरीक्षकको सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिने तयारी भइरहेको छ ।
यसअघि २०८२ जेठ ६ गते ११ जना डीआईजी बढुवा भएका थिए । सो टोलीबाट शारदाप्रसाद चौधरी छुटेका थिए । १२ जनामध्ये चौधरीलाई बाहिर राखेर बाँकी सबैलाई बढुवा गरिएको थियो । यसपटक चौधरी बढुवा हुने सम्भावना बलियो देखिएको छ ।
०८० को टोली प्रतिस्पर्धामा
२०८० सालमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका अधिकृतहरूबाट चार जना यसपटक डीआईजीमा बढुवा हुने सम्भावना छ । आफ्नो टोलीबाट पहिलोपटक डीआईजी बन्ने भएकाले यो समूहभित्र चर्को प्रतिस्पर्धा रहेको स्रोत बताउँछ ।
यो टोलीबाट विश्व अधिकारी, भूपेन्द्र खत्री, सोमेन्द्र सिंह राठौर र सानुराम भट्टराई बढुवाको दौडमा छन् । २०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा पहिलो नम्बरमा रहेका विश्व अधिकारी जेनजी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख थिए । त्यसबेला सरकारले उनलाई मुख्यालय फिर्ता गरी एसएसपी रमेश थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो ।
अधिकारी २०५५ कात्तिक १ गते प्रहरी निरीक्षकमा प्रवेश गरेका हुन् । भर्ना पहिले भए पनि उनी २०५६ को टोलीसँगै डीएसपीदेखि एसएसपीसम्म बढुवा हुँदै आएका छन् । अधिकारी र चौधरी दुवै बढुवा भए २०५६ असार ३ गते भर्ना भएको टोलीबाट यसपटक तीन जना डीआईजी बन्नेछन् ।
उही टोलीका भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, सोमेन्द्र सिंह राठौर, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले पनि बढुवाका लागि सक्रिय छन् । एसएसपी वरीयतामा पछाडि परेकी तारादेवी थापाले समेत यसै टोलीबाट डीआईजी बन्ने प्रयास जारी राखेकी छिन् ।
त्यस्तै, २०८० मंसिर ४ गते एसएसपी भएका मुकुन्द मरासिनी, दीपशमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, प्रज्ज्वल महर्जन र रमेशकुमार बस्नेत पनि सोही समूहका भए पनि उनीहरूको बढुवा सम्भावना यसपटक न्यून देखिएको छ ।






