काठमाडौं, ३ कात्तिक – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ पुगेको छ। गत आवको तुलनामा यो उल्लेखनीय वृद्धि हो।

गत वर्ष असोज मसान्तसम्म १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको थियो। उद्योग विभागका अनुसार असोज मसान्तसम्म अप्रुभल रुटबाट ३३ अर्ब २७ करोड ४८ लाख र अटोमेटिक रुटबाट १ अर्ब ८६ करोड २९ लाख रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको छ।

यस अवधिमा कुल ३११ उद्योग दर्ता भएका छन्। असोजसम्म कुल एफडीआई प्रतिबद्धता ६ खर्ब ८६ अर्ब ५५ करोड रुपैयाँ पुगेको तथ्यांक विभागले सार्वजनिक गरेको छ। असोज महिनामा मात्र २ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। साउन–भदौमा ठूलो लगानी भए पनि भदौ अन्तिम साताको राजनीतिक उथलपुथलको असर असोजमा नकारात्मक देखिएको छ।

असोजसम्म ठूला उद्योग ७ वटा, मझौला ४ र अन्य साना उद्योगमा लगानी भएको छ। असोज महिनामा दर्ता भएका ७५ उद्योग सबै साना प्रकृतिका छन्।

सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानी केन्द्रित रहेको देखिएको छ। सूचना प्रविधिमा १६२ उद्योगमा एफडीआई स्वीकृत भएको छ, जुन कुल लगानीको ५२ प्रतिशत हो। पर्यटनमा १०२ उद्योगमा एफडीआई स्वीकृत भएको छ, जुन ३३ प्रतिशत बराबर छ। अन्य क्षेत्रमा सेवामूलक उद्योग १९, उत्पादनमूलक १५, कृषि ११ र ऊर्जा क्षेत्रमा एक उद्योगमा लगानी स्वीकृति भएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर