काठमाडौँ । शनिबार जेनजी प्रतिनिधि मिरज ढुंगानाले दल खोल्ने घोषणा गरे। तर, आफ्ना विभिन्न सर्त पूरा नहुञ्जेल चुनावमा भाग नलिने बताए।

‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ,’ उनले भनेका छन्।

आन्दोलनमा सहभागी नभए पनि एउटा समूहको अगुवाइ गरिरहेका उनले दलको नामलगायतका तयारीका लागि समिति गठन गरिएको बताए।

मिरज मात्र होइन, जेनजी आन्दोलनबाट जन्मिएका अनेकौँ समूहले दल खोल्ने कसरत गरिरहेका छन्।

भ्रष्टचारको विरुद्धमा आवाज उठाउँदै सुरु गरिएको आन्दोलनपश्चात् नयाँ–नयाँ माग र एजेन्डाका साथ फरक–फरक जेनजी समूह बनेका छन्। उनीहरुबीच सैद्धान्तिक र व्यावहारिक हिसाबले बेमेल छ।

फागुन २१ का लागि आम चुनाव घोषणा भइसकेको छ। त्यसका लागि दल दर्ता गर्ने मिति नजिकिँदै जाँदा जेनजी समूहबाट कम्तीमा चारवटा पार्टी गठनको तयारी भइरहेको छ। हरेक समूहले अन्य सबै समूहलाई गोलबद्ध गर्ने बताउँदै आएका छन्।

जेनजी आन्दोलनपछि सरकारले गर्ने हरेक निर्णयमा सक्रिय सहभागी देखिएका सुदन गुरुङको समूह पनि दल गठनको तरखरमा छ। गुरुङको समूहले सम्पूर्ण जेनजी प्रतिनिधि लगायत युवाहरूलाई समेत एकसाथ जोडेर अघि बढ्नेबारे विभिन्न समूहहरूसँग छलफल गरिरहेको सुदननिकट जेम्स कार्की बताउँछन्।

सुदनले नयाँ दल गठनबारे रास्वपा छोडेकी निवर्तमान सांसद सुमना श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग समेत छलफल गरिरहेको कार्कीको भनाइ छ।

‘सबैलाई समेटेर एउटै फोर्स भएर अघि बढ्नुपर्छ भन्ने कुरामा हामीबीच छलफल भइरहेको छ,’ उनले नेपालखबरसँग भने।

तिहार आसपास तयारी गर्ने र तिहारलगत्तै दल गठन गर्ने कुरा पक्का भएको कार्कीले दाबी गरे। तर दलमा को–को आउँछन्, अहिले नै भन्न नसकिने उनको भनाइ छ।

‘हाम्रो समूहले पहिलो दिनदेखि नै छुटिन खोजेका जेनजीहरूलाई एउटै टेबलमा ल्याएर वार्ता गराउने प्रयास गरिरहेको छ,’ उनले थपे, ‘त्यसमा केही जोडिइ पनि सक्नुभयो केहीलाई जोड्न सुदन दाइ आफैँ लाग्नु भएको छ। दलको नेतृत्व कसले गर्छ भन्ने कुरा विधान तयार भैसकेपछि नै थाहा हुन्छ। तर दलको गठनमा भने सुदन दाइले नै नेतृत्व लिनुभएको छ।’

बालेन, सुमना र सुदनलाई एकैठाउँमा ल्याउन आफूले पनि सहजीकरण गरिरहेको फिल्म निर्देशक निश्चल बस्नेतले बताएका छन्।

‘देशमा यो अवस्था देखेपछि उहाँहरू (बालेन, सुमनालगायत) एकै ठाउँमा आउनुपर्छ भन्ने हाम्रो चाहना हो। केही राम्रो होस् भनेर मैले सपोर्ट मात्रै गरिरहेको छु। अहिले भेटघाट र छलफलहरू भइरहेको छ। तर, पार्टीको नाम र नेतृत्व क्लियर भइसकेको छैन,’ बस्नेतले नेपालखबरसँग भने।

रक्षा बमको तयारी
उता रक्षा बम नेतृत्वको एउटा समूह पनि दल खोल्ने कसरतमा छ। फागुनमा हुने चुनावको लागि दल गठनको विषयलाई लिएर कसरी अगाडि बढ्ने भन्ने विषयमा आफूहरुले सोच–विचार गरिरहेको र एक हप्ताभित्रमा निर्णयमा पुग्ने बमले बताइन्।

‘कुनै पनि निर्णयमा पुग्नुभन्दा पहिले लोकतन्त्र र संविधानका महत्त्वपूर्ण स्तम्भहरूलाई सर्वोच्च राखेर त्यसैको सेरोफेरोमा नै आफ्ना विचारधाराहरूलाई राखेर त्यसमा काम गर्नु पर्छ भन्ने हाम्रो ठहर छ,’ उनले भनिन्, ‘हामीसँग विचार मिल्ने खालको समूह केन्द्रित गर्दैछौँ।’

उनले आन्दोलनको म्यान्डेटमा रहेर नै आफ्नो समूहले काम गर्ने बताइन्।

आफ्नो समूहमा युजन राजभण्डारी, प्रदीप ज्ञवाली लगायतका व्यक्तिहरू रहेको उनी बताउँछिन्। प्रदेश स्तरमा पनि मोर्चा निर्माणको पहल भइरहेको उनले जानकारी दिइन्।

‘राजनीतिक मोर्चा निर्माणको काम गर्दै छौँ। नयाँ दल नै निर्माण हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ एक हप्ताभित्रमा थाहा हुन्छ,’ उनले भनिन्।

भदौ २३ गते जेनजी आन्दोलनका लागि सीडीओ कार्यालयमा अनुमति लिने जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले भने आफ्नो तयारीबारे केही बोलेका छैनन्। तथापि, उनको नाम अनेक समूहसँग जोडिने गरेको छ।

उनी पनि सबैलाई समेटेर चुनाव लड्ने पक्षमा आफू रहेको बताउँछन्। यादव प्रायः अर्का प्रतिनिधि प्रवेश दाहालसँगै देखिन्छन्। नयाँ दल गठनबारे जानकार स्रोतहरू चाहिँ यादवले सुदनसँगै मिलेर अगाडि बढ्ने तयारी गरिरहेको बताउँछन्।

‘यस विषयमा केही कुरा पक्का नभई बोल्न उचित हुँदैन,’ उनी भन्छन्।

सहिदका परिवारको छुट्टै तयारी
जेनजी आन्दोलनमा सहिद भएकाहरूका परिवारले पनि छुट्टै पार्टी निर्माण गरेर आउँदो चुनावमा लड्ने बताएका छन्। सहिद श्रेयम चौलागाईंका बुवा गणेश चौलागाईंले सहिद परिवारलाई अग्रपंक्तिमा राखेर दल गठन गर्ने बताए।

आन्दोलनमा आफ्ना छोराछोरी सहिद भएको, तर सरकारले आफूहरूलाई नजरअन्दाज गरेको भन्दै आन्दोलनको एक महिनापछि उनीहरुले विभिन्न माग राखेका छन्। सहिद परिवारको वार्ता टोलीका संयोजकसमेत रहेका चौलागाईंले संगठन विस्तार गर्न उपसमिति पनि बनिसकेको जानकारी दिए।

‘यो दल नितान्त सहिद परिवारबाट नै निर्माण हुन्छ,’ उनले भने, ‘यस दलमा कुनै पनि घाइते जेनजी तथा जेनजी प्रतिनिधिहरू हुँदैनन्।’

सहिद परिवारका सदस्यहरूले बसेर मसौदा तयार गरिरहेको उनको भनाइ छ। अब बन्ने दलको नेतृत्व कसले गर्ने भन्नेबारे छलफल जारी रहेको तर सहिद परिवारकै योग्य सदस्यले नेतृत्व लिने उनले बताए।

‘यदि कोही हाम्रो पछाडि बसेर हाम्रो मुद्दालाई अघि बढाएर हामीलाई सहयोग गर्न चाहनुहुन्छ भने त्यस्ता संघसंस्था तथा बुद्धिजीवीहरुलाई हामी एकदुई दिनभित्रै आह्वान गर्छौं,’ उनले भने।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर