
राजविराज, असोज २८ — तलब र भत्ता उपलब्ध गराउनुपर्ने मागसहित सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले मंगलबार गाउँपालिका कार्यालयसहित वडा कार्यालयहरूमा तालाबन्दी गरेका छन्।
‘बेथिति र विसंगति विरुद्ध संघर्ष समिति’ को अगुवाइमा आन्दोलनमा उत्रिएका उनीहरूले गाउँपालिकाको मूल गेट, अध्यक्ष, उपाध्यक्ष तथा सबै ६ वटै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

तालाबन्दीपछि पालिकाबाट प्रदान हुने सेवा ठप्प भएका छन्। कार्यालयहरू बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन्।
मावि जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डलले तलबभत्ता माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले तालाबन्दीसहितको आन्दोलनमा उत्रनु परेको बताए। उनले तिहारअघि माग सम्बोधन नभए छठपछि विद्यालय र स्वास्थ्य संस्था लगायत सम्पूर्ण कार्यालय अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिए।
यसअघि आइतबार आन्दोलनरत समूहले गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै सोमबारसम्म तलब भत्ता उपलब्ध गराउन २४ घण्टे अल्टिमेटम दिएका थिए। माग सुनुवाइ नभएपछि मंगलबारबाट तालाबन्दी र धर्ना सुरू गरिएको उनीहरूको भनाइ छ।
संघर्ष समितिका प्रवक्ता तुलसी थारुले तलब भत्ता दिन नसक्ने जनप्रतिनिधि असक्षम भएको भन्दै अध्यक्ष दिनानाथ चौधरीसहित सम्पूर्ण जनप्रतिनिधिको राजीनामा माग गरेका छन्।
उनका अनुसार आन्दोलनलाई अझ व्यापक बनाउँदै वडा नं. १ देखि ६ सम्म असोज २९ गतेदेखि जनजागरण कार्यक्रम सञ्चालन गरिनेछ।
संघर्ष समितिले अध्यक्षको सचिवालय खारेज गर्नुपर्ने, कर्मचारीलाई नियमित तलब भत्ता दिनुपर्ने, भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने र सुशासन कायम गर्नुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।