
राजविराज, २८ असोज
सप्तरीको खडक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुको बेपर्वाही कार्यशैलीका कारण दशैंको मुखमै कर्मचारी र शिक्षकहरू तलब भत्ताबाट वञ्चित भएका छन्। नगर प्रमुखसहितको वार्ताका प्रयासलाई समेत अवज्ञा गर्दै कार्यालयमै अनुपस्थित हुने सोनुको रवैयाले प्रशासनिक अराजकता निम्त्याएको छ।
नगर प्रमुख जयप्रकाश चौधरीका अनुसार, नेपाल शिक्षक संघ र नगरपालिकाबीच तलबभत्ता उपलब्ध गराउने सहमति भइसकेको भए पनि, त्यसलाई कार्यान्वयनमा लैजान मंगलबार बोलाइएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सोनु गैरहाजिर भएपछि प्रक्रिया अन्योलमा परेको हो।

“समस्या समाधानका लागि सबै पक्षसँग समन्वय गर्यौं। उपमेयर, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीसँग छलफल पनि भयो,” नगर प्रमुख चौधरीले भने, “तर प्रमुख प्रशासकीय अधिकृत नै अनुपस्थित भएपछि निर्णय लिन सकेनौं।”
नगर प्रमुख चौधरीले सोनुको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, “वहिले कर्मचारीलाई पेस्की रोके, सेवाग्राहीलाई घन्टौँ लाइनमा राखे, बैठकमा नआउने, आवश्यक कागजातमा हस्ताक्षर नगर्ने जस्ता व्यवहार गर्दै आएका छन्।”
गत वर्षका केही महत्वपूर्ण फाइलहरू समेत सोनुले रोक्का राखेका कारण नगरपालिकाको दैनिक कामकाज प्रभावित भएको स्रोतको दाबी छ। एक कर्मचारीका अनुसार, “पटक–पटक बैठक बोलाउँदा उहाँले ‘म नआउने, अर्को हाकिम बोलाऊ’ भनेर पन्छिनुहुन्छ।”
सोनुको यस्तो गैरजिम्मेवार कार्यशैलीविरुद्ध नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनपछि प्रमुख प्रशासकीय अधिकृतले आत्मालोचना गर्दै गल्ती स्वीकार गर्नुपर्ने मागसहित कार्यक्रम स्थगित गरिएको छ।
दशैंको मुखमै तलब र भत्ता नपाएका शिक्षक तथा कर्मचारीहरू आक्रोशित छन्। “हामी सहमतिमा पुगेका थियौं, कार्यान्वयनको जिम्मेवारी प्रशासनिक प्रमुखको हो, तर उहाँले साथ नदिँदा सबै प्रक्रिया अवरुद्ध भएको छ,” चौधरीले गुनासो गरे।
प्रमुख प्रशासकीय अधिकृत सोनुले भने नगर प्रमुखले आफूमाथि अधिकार नदिएको आरोप लगाउँदै आएका छन्। तर स्रोतहरूका अनुसार, आफूले गर्नुपर्ने जिम्मेवारीबाट भाग्न र दोष अरूमाथि थुपार्न माहिर छन् उनी।
यसैबीच नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतविरुद्ध आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा महत्वपूर्ण निर्णयहरू पठाएको जनाएको छ। स्थानीयवासी र सेवाग्राहीहरूले समेत सोनुको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
अब सोनुले आफूलाई सुधार्ने कि प्रशासनिक कारबाही भोग्ने भन्ने दबाब तीव्र हुँदै गएको छ। खडक नगरपालिकाको शासन प्रणाली ‘एक व्यक्ति–केन्द्रित मनपरी’मा चल्न नसक्ने स्पष्ट सन्देश जनप्रतिनिधिहरूले दिइसकेका छन्।