
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाउने भएका छन्। २७ असोज राति देउवा र खड्काबीच सहमति भएपछि पार्टीको कमाण्ड खड्कालाई सुम्पिने तयारी भएको हो। उक्त सहमति कांग्रेसको आजबाट सुरु हुने केन्द्रीय समिति बैठकबाट पारित गरिनेछ।
पार्टीको नेतृत्व हस्तान्तरणसँगै देउवा थप उपचारका लागि सिङ्गापुर जान लागेका छन्। कोशी टेलिभिजनलाई प्राप्त जानकारीअनुसार देउवा दम्पतीको स्वास्थ्य अवस्थाका कारण सिङ्गापुर प्रस्थान तय गरिएको हो।

जेनजेडी आन्दोलनपछि अराजक समूहले देउवा दम्पतीमाथि कुटपिट गर्नुका साथै बूढानीलकण्ठस्थित घरमा आगजनी गरेको थियो। त्यसयता उनीहरू ललितपुरस्थित एक भाडाको घरमा बस्दै आएका छन्। सार्वजनिक रूपमा नदेखिएका देउवाको स्वास्थ्य उपचारसँगै पार्टीको आगामी रणनीति तय गर्न खड्कालाई जिम्मेवारी सुम्पिने निर्णय भएको हो।
पूर्व सहमतिअनुसार तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने पालो देउवाको थियो। तर पछिल्लो राजनीतिक परिस्थितिमा संसद् विघटन गर्दै सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको छ। उक्त सरकारले आगामी फागुन २१ मा निर्वाचनको मिति तोकेको छ।
संसद् विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा आजैदेखि थुप्रै रिट दर्ता भएका छन्। यदि अदालतले संसद् पुनर्स्थापना गर्ने निर्णय गर्यो भने संविधानअनुसार देउवा प्रधानमन्त्री बन्ने सम्भावना छ।
यसै सन्दर्भमा देउवाको सिङ्गापुर बसाइँ उपचारसँगै राजनीतिक परामर्शमा केन्द्रित हुने विश्लेषकहरूको बुझाइ छ। आन्तरिक राजनीतिसँगै बाह्य प्रभावको चर्चा भइरहेका बेला देउवाको विदेश बसाइँ रणनीतिक रूपमा पनि महत्वपूर्ण हुने बताइएको छ। यद्यपि उनी कहिले सिङ्गापुर जाने भन्ने मिति भने सार्वजनिक गरिएको छैन।