काठमाडौं — चिनियाँ संगठित गिरोहसँग मिलेर विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा पुनः पक्राउ परेका छन्।
तीन वर्षअघि भेपमा लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पहिले अनुसन्धानमा तानिए पनि उन्मुक्ति पाएका महरालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार खुमलटारबाट पक्राउ गरेको हो। सीआईबीले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हानसोङ फ्लाई दुबईको उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउँदा भेपका ७३ बट्टाभित्र लुकाइएको ७३० थान सुन बरामद भएको थियो। उक्त सुनको मूल्य ८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको थियो।
प्रहरीका अनुसार सुन भेप स्टोरमा थन्क्याएर भन्सार कर्मचारीहरूको मिलेमतोमा बिक्री गरिएको थियो। त्यसक्रममा महरा र उनका छोरा राहुलले भन्सारका कर्मचारी र बिचौलियासँग २५६ पटकसम्म टेलिफोन सम्पर्क गरेको तथ्य फेला परेको थियो। सोही घटनासँग सम्बन्धित रहेर महरा २०८० चैत ५ मा पनि कपिलवस्तुबाट पक्राउ परेका थिए।
तर, त्यसबेला काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महरामाथि मुद्दा नचलाई हाजिरी जमानीमा छाडेको थियो। गृह मन्त्रालयमा नेतृत्व परिवर्तनसँगै रोकिएका आपराधिक घटनाको पुनः अनुसन्धान गर्ने भनिएको सन्दर्भमा सीआईबीले उनलाई फेरि नियन्त्रणमा लिएको हो।
सीआईबी प्रमुख एवं एआईजी मनोज केसीका अनुसार महरा आपराधिक समूह बनाएर संगठित रूपमा लाभ लिएको, भन्सार ऐन, २०६४ तथा संगठित अपराधसम्बन्धी प्रावधान उल्लंघन गरेको आरोपमा पक्राउ परेका हुन्।
यसअघि त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी र महराका छोरा राहुलविरुद्ध मात्र मुद्दा दायर गरिएको थियो। तर, पछिल्लो अनुसन्धान र पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित जाँचबुझ आयोगको सिफारिसपछि महराको संलग्नतामाथि पुनः प्रश्न उठेको हो।
जाँचबुझ आयोगले महराको भूमिका सन्दिग्ध रहेको र उनी कसुरदार होइनन् भन्ने प्रमाण नपुगेको निष्कर्ष दिएको थियो। त्यही आधारमा सीआईबीले महराविरुद्ध पुनः अनुसन्धान थालिएको जनाएको छ।






