जनमत पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपककुमार साहले ‘नेपाल स्वराज पार्टी’ नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीबाट विभाजित भएको भन्दै उपाध्यक्ष साहको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन आएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता विष्णु पौडेलले लोकान्तरलाई जानकारी दिए ।

‘उहाँहरूले पदाधिकारीसहित २० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवेदन साथ नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको हो,’ पौडेलले भने, ‘आयोगले थप बुझेर पछि निर्णय गर्छ ।’
अहिले प्रतिनिधिसभा विघटन भएको अवस्थामा २० प्रतिशत केन्द्रीय सदस्य भए पार्टी विभाजनको आधिकारिता प्राप्त गर्न सकिने उनको भनाइ छ ।
जनमत पार्टीले उपाध्यक्ष साहसहित तत्कालीन कोषाध्यक्षलाई पार्टीबाट निष्काशन गरिसकेको छ ।
तर कारबाही विधि सम्मत भए/नभएको र अद्यावधिक भए/नभएको पनि हेरिने उपन्यायाधिवक्ता पौडेलले जानकारी दिए ।
‘कारबाही भएको विषय भएर मात्र हुँदैन । त्यो कारबाही विधि सम्मत भएको हो/होइन, कारबाही गरिसकेपछि अद्यावधिक भएको छ/छैन भन्ने कुरा पनि हेरिन्छ,’ पौडेलले भने, ‘अहिलेसम्म जनमत पार्टीले कारबाही गरेको विषयमा अद्यावधिक भने गराइसकेको छैन । त्यस कारण उहाँहरूको विभाजनले वैधता पाउँछ ।’






