काठमाडौं । नेकपा (एमाले) ले बिहीबार गुण्डुमा कार्यकर्ता उतारेको छ।
एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको हो। जसको प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओली छन्। उनी कार्यक्रमस्थलमा आइसकेका छन्। उक्त कार्यक्रममा एमालेका अन्य शीर्षस्थ नेताहरू पनि सहभागी भएका छन्।


जेन–जी प्रदर्शनकारीको एउटा घटकले बिहीबार माइतीघर मण्डला प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालयसँग अनुमति पनि लिएको थियो। जेन–जी विद्रोहको बिहीबार महिना दिन पुगेको सन्दर्भमा आन्दोलनको मर्म र भावनाको जगेर्ना गर्न भन्दै ती प्रदर्शनकारीले अनुमति लिए पनि गृह मन्त्रालयले उक्त कार्यक्रम नगर्न भनेको थियो।
त्यसपछि उनीहरूले माइतीघर मण्डलको कार्यक्रम स्थगित गरेका छन्।
सामाजिक सञ्जाल टिकटक लगायतका प्लेटफर्ममा असोज २३ को कार्यक्रमबारे व्यापक प्रचार भएको भदौ २४ जस्तै घटनाको पुनरावृत्ति हुन सक्ने अवस्थालाई ध्यानमा राखेर एमालेले प्रदर्शनको तयारी गरेको थियो। त्यसैलाई कार्यकर्ता भेलामा परिणत गरेको एक नेताले बताए।
पछिल्लो समय पार्टी अध्यक्ष अोली सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा डेरा गरी बसिरहेका छन्।
गत भदौ २४ गते भक्तपुर बालकोटस्थित निवासमा आगजनी गरिएपछि उनी त्यता सरेका हुन्। सार्वजनिक कार्यक्रममा खासै ननिस्किएका अोलीले अहिले राजनीतिक गतिविधि गुण्डुबाटै सञ्चालन गरिरहेका छन्।
एमाले आउँदो शुक्रबार र शनिबार सचिवालय बैठक राखेको छ। आगामी २७ देखि २९ सम्म केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। त्यसपूर्व अध्यक्ष ओलीले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसमेतलाई भर्चुअल बैठकमार्फत् सम्बोधन गरिसकेका छन्।






