काठमाण्डौं । गत भदौ १८ गतेको भीषण बाढीपहिरोले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन्। बिहीबार बिहान मन्त्री घिसिङ मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसहित भकुन्डे–नेपालथोक सडक खण्डमा पुगेका हुन्।
काभ्रेको चौकीडाँडा खण्डमा बाढीले करिब चार किलोमिटर सडक पूर्णरूपमा बगाएपछि उक्त स्थानमा अस्थायी डाइभर्सन निर्माणका लागि पहल थालिएको छ। मन्त्री घिसिङले अनुगमनपछि सम्बन्धित निकायलाई शुक्रबार साँझसम्म अस्थायी ट्रयाक निर्माण गरेर सवारी सञ्चालनयोग्य बनाउने निर्देशन दिएका छन्।

बाढीले सडक संरचनामा ठूलो क्षति पुर्याएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। यात्रुको चाप बढ्ने चाडपर्वको समयमा सडक बन्द हुँदा सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको छ। बीपी राजमार्ग संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख सडक मार्ग (लाइफ लाइन) मानिन्छ।
गत वर्ष पनि बाढीका कारण सोही खण्डमा क्षति पुगेको थियो। त्यसबेला अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको भए पनि यस वर्ष पुनः बाढीले सो डाइभर्सनसमेत बगाएको छ। अब पुनः नयाँ डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्न लागिएको छ।
यता, स्थायी संरचना निर्माणका लागि केही खण्डको ठेक्का भइसकेको र केही ठेक्का सम्झौताको अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।






