सर्लाही, असोज २२ गते । सर्लाही प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका गोडैता नगरपालिका- ७ का वडाध्यक्ष विनेश कुमार दासलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैताका स्थानीयवासी आक्रोशित बनेका छन् ।

असोज २१ गते मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले बताएका छन् ।

दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका-७ मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका-५ बस्ने अनिल राय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष विनेश कुमार दाससहितले प्रहरी चौकी गोडैतामा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको उनिमाथि आरोप लागेको छ ।

कारिल यादवलाई कुटपीट गर्ने ठेकेदार अनिल राय यादव प्रहरीको नियन्त्रणमा रहेका छन् । भने कारिल यादव कुटिएको विषयमा प्रहरी चौकी गोडैतामा पंचायती हुँदै आएको थियो ।

गोडैता नगरपालिकाका नगरप्रमुख देबेन्द्र यादवका अनुसार, घटनामा वडाध्यक्ष दासको संलग्नता नै छैन, राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको छ । प्रहरीले दोषी पहिचान गरेर कारवाही गरोस् । तर निर्दोष जनप्रतिनिधिलाई यसरी पक्राउ गर्नु उचित नभएको उनले बताए । उनले भने, विवाद भएपछी विवाद मिलाउन प्रहरीले नै बोलाएर उनि त्यहाँ पुगेको भिडियो खिचेर दोषी देखाउन खोजिएको छ ।

स्थानीयका अनुसार, वडाध्यक्ष दास प्रहरी चौकीमा पुग्नु अघि देखिनै ढुंगामुढा भईरहेको थियो । त्यहाँ उनि पुगेपछि प्रहरीले भिडियो खिचेको थियो । पछि सोही भिडियोका केही अंशलाई आधार बनाएर वडाध्यक्षकै नेतृत्वमा ढुंगामुढा भएको भन्दै उनीमाथि आरोप लगाइएको स्थानीयको दाबी छ ।

डिएसपी राईका अनुसार, वडाध्यक्षकै नेतृत्वमा असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र प्रहरीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताएका छन् ।

आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) अवधेश प्रसाद यादवको अगाडिको दुई वटा दाँत भाँचिएको छ । भने प्रहरी चौकीमा कार्यरत अन्य ५ जना प्रहरीहरुसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी चौकीमा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा ३ वटा मोटरसाइकलमा समेत क्षति पुगेको प्रहरीको दावी रहेको छ ।

प्रहरीले वडाध्यक्ष दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ । उनिमाथि कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाएको छ ।

वडाध्यक्ष दासको पक्राउ विरुद्ध बुधबार बिहानैदेखि गोडैता बजार पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीयले बजार बन्द गर्दै वडाध्यक्ष दासको तत्काल रिहाइको माग गरेका छन् । उनीहरूले प्रहरीको बयान एक पक्षीय रहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषी पहिचान गर्नुपर्ने माग समेत गरेका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर