निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालो सूचीमा राखेको पाइएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा अध्यागमन विभागले ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालो सूचीमा राखेको हो ।

अध्यागमन विभागले ओली, लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई कालो सूचीमा राखेको हो ।

जाँचबुझ आयोगले गरेको सिफारिस बमोजिम गृह मन्त्रालयले विदेश भ्रमणमा रोक तथा राहदानी रोक्का गर्न अध्यागमन विभागमा असोज १२ गते पत्राचार गरेको थियो । अध्यागमन विभाग स्रोतका अनुसार सोही दिनदेखि गृह मन्त्रालयको निर्देशन कार्यान्वयनमा आइसकेको छ ।

अध्यागमनले कालोसूचीमा राखेका व्यक्ति विमानस्थल भएर देशबाहिर जान पाउने छैनन् । ‘गृह मन्त्रालयको पत्रानुसार ती पाँचै जनालाई विभागले कालो सूचीमा राखेको हो,’ अध्यागमन विभाग स्रोतले लोकान्तरसँग भन्यो, ‘यदि उहाँहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् विदेश भ्रमण जान लागेको पाइए अध्यागमन कार्यालयले उहाँहरूलाई रोकेर प्रहरीको जिम्मा लगाउँछ ।’

आयोगले असोज १२ गते ती पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन, कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुनाले आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गरिदिन सरकारलाई सिफारिस गरेको थियो ।

सोही बमोजिम गृहले आयोगको सिफारिससहित कार्यार्थ पठाएको पत्रलाई अध्यागमन विभागले कार्यान्वयन गरेको विभाग स्रोतले खुलायो ।

‘अध्यागमन विभागले विभिन्न मन्त्रालयसहित अनुसन्धान गर्ने विभिन्न निकायको माग बमोजिम कार्यान्वयन गर्ने हो,’ अध्यागमन विभागका एक कर्मचारीले लोकान्तरसँग भने, ‘गृह मन्त्रालयको पत्र बमोजिम असोज १२ गतेदेखि नै हामीले कार्यान्वयन गरिसकेका छौं ।’

राहदानी रोक्का गर्न समेत भनिएको भएपनि राहदानी रोक्काको काम अध्यागमन विभागको नहुने हुँदा त्यस सम्बन्धमा केही गर्नै नपरेको उनले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवाले राहदानी लिएर थाइल्याण्डको भिसा समेत लगाइसकेको खबर बाहिरिएपछि आयोगले ५ जनालाई काठमाडौं उपत्यका बाहिर जान रोक लगाउने निर्णय गरेको थियो ।

आफूहरूको पासपोर्ट रोक्न लागिएको भन्दै ओलीले आपत्ति जनाएका थिए । ‘यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी भाग्छौं ?’ असोज ११ गते भक्तपुरमा युवा संघले आयोजना गरेको कार्यक्रममा ओलीले भनेका थिए ।

आन्दोलन दबाउन निर्देशन दिएको भन्दै ओली र लेखकलाई पक्राउ गर्न सरकारमाथि जेनजी समूहले दबाब दिइरहेका छन् । हामी नेपाल समूहका संयोजक सुधन गुरुङ समूहले सोमबार मात्र ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी लिएर गएका थिए । तर, प्रहरीले जाहेरी दर्ता गरेन ।

बरु मंगलबार फेरि आन्दोलनमा मारिएकाका र घाइते भएकाको परिवारका तर्फबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिइएको छ । प्रहरीले उक्त जाहेरी बुझेर जनेजी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगमा ‘फरवार्ड’ गरेको छ ।

मंगलबार नै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह र सुधन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको छ ।

भदौ २३ गते भएको जेनजी आन्दोल र भोलिपल्ट भएको हिंसामा समेत गरी ७४ जनाको मृत्यु भएको थियो । सो घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । आयोगले जेनजी आन्दोलन दबाउनमा ओली–लेखक लगायतको संलग्नताबारे जाँचबुझ गरिरहेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर