राजविराज,१८ असोज । राजविराजस्थित ऐतिहासिक बागेश्वरी मन्दिर परिसरमा सम्पन्न तीनदिने अन्तर्राष्ट्रिय देव महासम्मेलन देव समुदायको एकता, साझा पहिचान र संस्कृतिको संरक्षणतर्फ एक महत्वपूर्ण मोड बनेको छ। नेपालका विभिन्न जिल्ला र भारतसहित विदेशबाट आएका देव समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहँदा सम्मेलनले गहिरो सामाजिक सन्देश दिएको छ।

“Solidarity” भन्ने नाराका साथ सुरु गरिएको सम्मेलनले देव जातिको साझा इतिहास निर्माण, सामाजिक समन्वय र विश्वव्यापी एकताको खाका कोर्ने प्रयास गरेको छ। सम्मेलनका वक्ताहरूले विश्वभर छरिएर बसेका देव समुदायलाई शिक्षा, संस्कार र सामाजिक मूल्यको संरक्षणमार्फत एक सूत्रमा बाँध्न आवश्यक रहेको धारणा राखे।

सामाजिक सुधारका पक्षमा पनि सम्मेलनले ऐतिहासिक निर्णयहरू गर्यो। विवाह संस्कारलाई दिनमा सम्पन्न गर्ने परम्परा निरन्तरता दिने, दहेज प्रथा र घटस्फोटजस्ता विकृति अन्त्य गर्ने, श्राद्ध कर्ममा १० दिन र भोज सीमित गर्ने, साथै संस्कारहरूमा समय सापेक्ष संशोधन गर्न सकिने प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिए।

राज्यबाट अल्पसंख्यकको रूपमा आफूहरूको पहिचान र संरक्षण सुनिश्चित गर्न माग गर्दै सम्मेलनले संस्थागत संरचना विस्तारको खाँचो औंल्यायो। देव समुदायलाई सशक्त बनाउने साझा संकल्प व्यक्त गर्दै सहभागीहरूले संगठन निर्माण र सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए।
समाजसेवा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरियो।
महासम्मेलन बागेश्वरी सेवा समिति, भवानी सेवा समिति, विराट देव सेवा समिति, देव समाज बिर्तामोड र देव समाज काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
सहभागीहरूका अनुसार यस्ता अन्तर्राष्ट्रिय भेला देव समुदायबीच आत्मीयता र पहिचानको सेतु बन्नेछन्।







