काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको आफ्नो ‘श्रम संस्कृति पार्टी’मा अभियन्ता पुण्य गौतमलाई पनि आबद्ध गराउने बताएका छन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत गौतमलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘युवा अभियन्ता पुण्य गौतमज्यूलाई श्रम संस्कृति पार्टीमा स्वागत गर्न चाहन्छु।’
तर यस विषयमा गौतमको प्रतिक्रिया आइसकेको छैन।
मेयर साम्पाङले केही दिनअघि मात्र आफ्नो नेतृत्व रहेको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगले यस विषयमा दसैँ बिदापछि मात्र प्रक्रिया अघि बढाउने बताएको छ।
धरानमा खानेपानी अभावलाई मुद्दा बनाएर स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा विजयी साम्पाङले त्यहाँ आफैँ सहभागी भएर श्रमबाटै खानेपानी परिपूर्ति गर्ने प्रयास गरिरहेका छन्।
देश बनाउन सबैले श्रममा जोड दिनुपर्ने उनले बताउने गरेका छन्।
जेनजी आन्दोलनबाट कांग्रेस-एमाले गठबन्धनको सरकार ढलेर मुलुकमा अन्तरिम सरकार गठन भइसकेको छ भने प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि चुनाव तोकिएको छ।
यसै अवसरमा मेयर साम्पाङले पनि पार्टी खोल्न लागेका हुन्।






