१३ असोज, काठमाडौं । अनियमिततामा संलग्न भएको गुनासोपछि सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइएको छ।
सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक हैरानी दिने उजुरी बढेपछि आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई मन्त्रालय तानेको हो।

मन्त्रालय स्रोतका अनुसार उनीहरूको मिलेमतोमा राजस्वसमेत हिनामिना भएको आशंका गरिएको छ। उक्त कार्यालयबाट अन्तरप्रादेशिक सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका काम हुँदै आएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको सचिवालयका अनुसार सेवाग्राहीबाट कार्यालयमा भएको अनियमितताको प्रमाणसहितको गुनासो प्राप्त भएपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन निर्देशन दिएका थिए।
यससँगै मन्त्रालयले प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ।
समितिलाई आरोपित कर्मचारीसँग बयान लिन, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन गर्ने तथा कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ।






