काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ ।
मंगलबार दिउँसो करिब ३ः२० बजेतिर सडक माथिबाट विशाल मात्रामा माटो, ढुंगामाटो र धूलो एक्कासी खस्दा सडक पूरै अवरुद्ध बनेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरीका अनुसार यो पहिरो अत्यन्तै ठूलो र जोखिमपूर्ण भएकाले तत्कालै सडक खोल्न सकिने अवस्था छैन ।

‘तुइनखोलामा अत्यन्तै ठूलो सुक्खा पहिरो खसेको छ । यसले सडक भासिन सक्ने खतरा पनि बढाएको छ,’ एसपी पुरीले भने, ‘सडक खुल्न कहिले सम्भव हुन्छ भन्ने अहिले नै निर्क्योल गर्न सकिँदैन ।’
सडक खण्डमा देखिएको जोखिमबारे निर्णय लिन सडक विभाग, स्थानीय प्रशासन र सुरक्षासंस्थाको संयुक्त बैठक अहिले चितवनमा बसेको प्रहरीले जनाएको छ । बैठकमा पहिरोको वास्तविक अवस्था, जोखिम मूल्याङ्कन र वैकल्पिक व्यवस्थाबारे छलफल भइरहेको छ ।
सडक नै भासिन सक्ने खतरा भएकाले तत्कालै सडक खुलाउने प्रयास नगरी, जोखिमपूर्ण क्षेत्रमा रहेका सबै सवारीसाधनलाई फर्काइदिएको छ । यात्रु र चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड मुलुककै सबैभन्दा व्यस्त सडक मध्ये एक हो । राजधानी काठमाडौंलाई पूर्व, पश्चिम र तराईसँग जोड्ने मुख्य मार्ग भएकाले यो सडक अवरुद्ध हुँदा हजारौँ यात्रु प्रभावित हुने अवस्था छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारीलगायत आवश्यक वस्तुको आपूर्तिमा समेत असर पर्ने चिन्ता व्यापारीहरुले व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा केही दिनयता चट्टान चिरिएको आवाज सुनिँदै आएको थियो । मंगलबार अचानक ठूलो मात्रामा पहिरो खसेपछि वरिपरि धूलो र धुवाँको गुब्बारले वातावरण ढाकिएको थियो । अहिले पनि सानो–ठूलो पहिरो खसिरहने क्रम जारी रहेकाले तत्कालै सडक सफा गर्ने सम्भावना नरहेको प्रहरीको भनाइ छ ।
अचानक सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका थिए । प्रहरीको सहायतामा सवारीसाधनलाई क्रमशः सुरक्षित ठाउँमा फर्काइएको छ । लामो दूरीका यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गरी गन्तव्यमा पुग्न अनुरोध गरिएको छ ।
सडक कति दिनमा खुल्ला हुन्छ भन्ने प्रष्ट छैन । पहिरोको आकार, निरन्तर खसिरहेको माटो र सडक भासिन सक्ने उच्च सम्भावनाले गर्दा प्राविधिक टोलीको प्रतिवेदनपछि मात्र कुनै निष्कर्ष निकालिने भएको छ ।






