सप्तरी — जेनजी आन्दोलनका क्रममा तोडफोडमा परेर क्षतिग्रस्त बनेको सप्तरीको राजविराजस्थित ट्राफिक प्रहरी कार्यालयलाई समाजसेवी युवाहरूले पुनःसंरचना सुरु गरेका छन्।

कमल किशोर साहको नेतृत्वमा रहेको युवाको समूहले शुक्रवार कार्यालय परिसर सरसफाइसँगै भौतिक संरचना मर्मतमा हात हाल्यो। युवाहरूले कार्यालयभित्र कार्पेट बिछ्याउनेदेखि लिएर तत्काल आवश्यक पर्ने अफिस सामग्रीहरू उपलब्ध गराएका छन्।

कार्यालयको झ्यालमा सिसा जडान गर्ने काम समेत स्वयंसेवक युवाहरूले आफ्नै खर्च र श्रम लगानीमा पूरा गरेका छन्। “यो कार्यालय सहरकै सार्वजनिक हितसँग जोडिएको छ, त्यसैले पुनःस्थापना हाम्रो जिम्मेवारी हो भन्ने भावना लिएर हामी जुटेका हौं,” कमल किशोर साहले भने।

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोडपछि कार्यालय असुरक्षित बनेको थियो। सो कार्यालय पुनः सञ्चालनका लागि प्रहरी प्रशासनले तयारी थालेको समयमा समाजसेवी युवाहरूको योगदानले पुनःसंरचना कार्यलाई सहज बनाएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय प्रमुखले स्थानीय युवाहरूको सहयोगप्रति आभार प्रकट गर्दै भने, “यस्तो सकारात्मक सहभागिताले समुदाय र सुरक्षाकर्मीबीचको विश्वास अझै बलियो हुन्छ।”

राजविराजका स्थानीय बासिन्दाले समेत युवाहरूको सक्रियताप्रति प्रसंसा गर्दै यसलाई “सहर पुनःनिर्माणमा नागरिकताको उदाहरणीय योगदान” भनेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर