जेन जीसहितको अन्तरिम सरकार गठनको कोसिस भइरहेको छ। यसैका लागि बुधबार जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलको पहलमा वार्ता भएका छन्।

चैत १५ को हिंसापछि हिरासत बसेर छुटेका दुर्गा प्रसाईं पनि दिनभर जंगी अड्डामै देखिए। सिग्देलसँग भेटको तस्बिर पनि उनले सार्वजनिक गरेका छन्। उनले सिग्देलसँग के कुरा गरे त? यसै विषयमा प्रसाईंसँगको कुराकानीः

तपाईं प्रधानसेनापतिलाई भेट्न हेडक्र्वाटर जानुभएछ होइन?
हेडक्वार्टर गइयो नि, आफ्नै हेडक्वार्टर हो।

अनि के कुरा भयो त? 
सिंहदरबार जलेको। सर्वाेच्चमा आगो लागेको कुरा भयो। नेताहरूले पैसा बाहिर लगेको कुरा भयो। ३५ वर्षदेखि नेताहरूले लुटे। हाम्रो उदेश्य भनेकै पहिलो चरणमा नेता लखेट्नु थियो। नेता लखेटिए। अब दोस्रो तस्कर लखेट्नु छ।

बैंक र व्यवसाय एउटै व्यक्तिको भयो। यो छुट्याउनु छ।

गरिबका २० लाखमुनिको ऋण मिनाहा गर्नुछ। २० लाखमाथिको ऋण २५ वर्षभित्र पाँच प्रतिशत ब्याजमा तिर्ने व्यवस्था मिलाउनु छ।

विदेशमा गएको सम्पत्ति सबै फिर्ता ल्याउनुछ। फेरि विदेशमा पढ्न पठाएका नेताका छोराछोरी सम्पत्तिसहित फिर्ता ल्याउनु छ।

देश आज हरिकंगाल भएको छ। ०४६ सालदेखि नेताले लुटेको देशका सम्पत्ति छानबिन गरेर ती फिर्ता ल्याउने, अन्तरिम सरकार बनाउने, अब नयाँ तरिकाले नयाँ नेपाल बनाउने, जुन नेपालमा संसारका मान्छे घुम्न आऊन् भन्ने हिसाबले कुरा भयो चिफ साबसँग।

त्यसो भन्दा उहाँले के भन्नुभयो? 
छक्क परेर हेर्नुभयो, सुन्नुभयो। ठिक छ दुर्गाजी, तपाईं–हामी एकै ठाउँमा उभियौँ। अहिले देश संकटमा छ। पृथ्वीनारायण शाहको पालादेखिको यो जंगी अड्डा हो। थामेर आको हो हामीले। यसको आफ्नै औचित्य छ। तपाईंहरूले साथ दिनुपर्‍यो भन्नुभयो।

मैले कस्तो स्याक्रिफाइस गर्नुपर्छ, नेपाल र नेपालीका लागि, आज तपाईंका लागि भनेँ। तपाईं भनेको एउटा व्यक्ति होइन, संस्था हो नेपाली सेना। नेपाली सेनाले थामेको छ आज।

यहाँ नेपाली सेनाको झण्डा छ। यो पार्टी कार्यालय होइन चिफ साब, यहाँ जंगी निसान छ। यहाँ पृथ्वीनारायण शाहको फोटो देखेँ, खुसी लाग्यो। तपाईंलाई कस्तो सहयोग चाहियो? जे भन्नुहुन्छ, म त्यो गर्न तयार, प्रधानमन्त्री पनि मलाई चाहिएको होइन, मन्त्री पनि चाहिएको होइन। को आउँछ? बालेन आउनुहुन्छ भने पनि स्वागत छ। सुशीला कार्की आउनुहुन्छ भने पनि स्वागत छ। जो आउँछ म सहयोग गर्छु भनेँ।

जेनजीबाट को आउँछ भनेर तपाईंले भन्नुभएन? 
एउटा जेनजीले सुशीला कार्कीलाई सिफारिस गरेर पठाएका छन रे त।

यो कुरा प्रधानसेनापतिले नै तपाईंसँग भन्नुभएको? 
अँ भन्नुभयो।

कसकसको नाम आएको भन्नुभयो? 
जेनजीको पनि चालीस–पचास वटा ग्रुप रहेछ। अनि फेरि ती बाझ्दैथिए परै। एकले अर्काको कुरा नमान्ने।

उनीहरूनै बाझाबाझ गर्दैथिए त्यहाँ।

देशले खोजेको चाहिँ कस्तो मान्छे हो भने सिंहदरबार जलिराखेको छ। सर्वाेच्च अदालत डढिराखेको छ। जिल्ला अदालत डढिराखेको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ध्वस्त भइरहेको छ। पचास खर्बको सम्पत्ति ध्वस्त भएको छ। अनि उनीहरू चौरीमा बसेर बाझिराखेका छन् जेनजी चाहिँ।

अनि सिंहदरबार, सर्वाेच्च, संसद् भवन जलाउन कसको हात रहेछ त? प्रधानसेनापतिले के भन्नुभयो? 
संसद् जलाउने, जेल फुटाएर मान्छे निकाल्ने को हुन्, तपाईं–हामीले देखेकै छौँ नि। अब के भन्नु।

तर, जेनजीले तपाईंहरू र केही राजनीतिक दल आउनु हुँदैन, जसले गर्दा आन्दोलन हिंस्रक भयो, उत्तेजक भयो भनिरहेका छन्? 
बेकारको कुरा हो त्यो। जेनजीले मात्र गरेर हुन्छ? आन्दोलन भनेको जेनजीको मात्र हुँदैन। यो सबै जनताको आन्दोलन हो क्या!

तपाईंहरूको पनि साथ थियो? 
हाम्रा छोराछोरी, हाम्रा नेपालीको आन्दोलन अनि सबैले सबैलाई साथ दिनैपर्छ नि। साथ थियो भन्दा पनि हाम्रा छोराछोरी होइनन् जेनजी भनेका!

त्यो त हो, तपाईंले पनि मान्छे पठाउनुभएको थियो? 
मैले त्यसरी पठाएको छैन। आफैँ गइदिए मान्छे। म त घरमै थिएँ।

ए तपाईंका मान्छे गएका थिए?
मेरा मान्छे गएका थिएनन् अरु मान्छे गएका थिए।

जेनजीकै अरु कि तपाईंका समर्थक? 
अब नेपालभरिका मान्छे गएका थिए। म जता जान्छु, त्यतै मेरा समर्थक छन्, नमस्ते गर्छन् त, के भन्नु मैले।

कति मिनेटजति बस्नुभयो प्रधानसेनापतिसँग? 
म बिहान साढे ८ बजे गएको अहिले बेलुका ६ बजे निस्केको।

त्यतिबेरसम्म बस्नुभयो? 
अँ हो।

तपाईं एक्लै कि अरु कोही हुनुहुन्थ्यो? 
हाम्रो चारपाँच जनाको टिम थियो।

तपाईंको आफ्नै कि, जेनजीसहित? 
हामीसँग पाँचसात जना जेनजीको टिम गएका थिए। मपट्टिको होइन, त्यहाँ जाँदा बाटोमा भेट भएका हुन्।

नेपालभरिमा जेनजी कति छन् भन्नु त? चिफ साब नै आफैँ छक्क पर्नुभएको छ। जेनजी नै जेनजी।

हाम्रो हर्कजी जानु भएको छ रे दुई जीप जेनजी लिएर धरानदेखि। त्यस्तो छ।

प्रधानसेनापतिको मनिस्थिति के पाउनुभयो? 
आज देशको गम्भीर मोडमा चिफ साब उभिनुभएको छ। उहाँ गम्भीर हुनुहुन्छ।

उहाँको थाप्लोमा धेरै ठूलो बोझ छ। उहाँ जतिसक्दो चाँडो एउटा नागरिक सरकार बनोस् त्यो सरकारले चाँडै चुनाव गराओस् भन्नेमा हुनुहुन्छ।

उहाँले तपाईंसँग त्यही भन्नुभयो? 
हो। नागरिक सरकार बनेर त्यसले चुनाव गराओस् भन्नुभयो। हाम्रो कुरा के थियो भने, संसद् विघटन गर्नुस्। अनि सबै कुरा गरेर लैजाऊँ।

पुराना पार्टीलाई पूरै प्रतिबन्ध लगाएर जानुपर्छ भन्ने खालको कुरा भयो।

अनि संसद् विघटन गर्ने कुरामा उहाँले के भन्नुभयो? मान्नुभयो? 
त्यसमा उहाँ बोल्नुभएन।

सागर न्यौपानेले नेपालखबरमा लेखेका छन ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर