विराटनगर, भदौ २०। नेपाल राष्ट्रिय बांग्ला समाजको नवगठित कोशी प्रदेश समितिका पदाधिकारीहरूले शुक्रबार एक विशेष समारोहबीच सपथ ग्रहण गरेका छन्। विराटनगरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममार्फत समाजका संस्थापक अध्यक्ष पार्थो सरकारले पदाधिकारीहरूलाई सपथ गराएका हुन्।
गत असार ७ गते सुन्दर हरैंचा नगरपालिकामा सम्पन्न भेलाबाट रंगेली नगरपालिकाका प्रमोदकुमार चक्रबर्तीको नेतृत्वमा ३७ सदस्यीय प्रदेश कमिटी गठन गरिएको थियो। चक्रबर्तीलाई प्रदेश इन्चार्ज तोक्दै झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहहरूबाट प्रतिनिधित्व हुने गरी अन्य सदस्यहरू मनोनयन गरिएको समाजले जनाएको छ।


सपथ समारोहमा कोशी प्रदेशसभा सदस्य भिम पराजुलीले नवगठित पदाधिकारीहरूलाई शुभकामना दिँदै समाजको उद्देश्य सफलताका साथ पूरा हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै समाजका प्रदेश सदस्य तापस दासले दुई वर्षअघि बांग्ला भाषा, कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्यका साथ केन्द्रीय समिति गठन गरिएको जानकारी दिए। उनले प्रदेशस्तरको संगठन विस्तारलाई बांग्ला समुदायको पहिचान सुदृढ गर्न महत्वपूर्ण पहल भएको बताए।

सो अवसरमा तनुश्री मुखर्जीले नोबेल पुरस्कार विजेता साहित्यकार रवीन्द्रनाथ टैगोरद्वारा रचित बांग्ला कविता वाचन गरेकी थिइन् भने समाजका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो।

नेपाल राष्ट्रिय बांग्ला समाजका अनुसार विराटनगरमा मात्र ९ हजारभन्दा बढी बांग्लाभाषी छन्। कोशी प्रदेशभरिमा यो संख्या ३ लाख नाघेको र देशव्यापी रूपमा करिब ५ लाख ५० हजार बांग्ला भाषीको उपस्थिति रहेको जनाइएको छ।











