काठमाडौं, १९ भदौ । विश्वभर चर्चित सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपालमा आफ्नो कम्पनी दर्ताका लागि आवश्यक पर्ने कागजातको सूची मागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मंगलबार साँझ मन्त्रालयका मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल पठाएर आवश्यक कागजातहरूको विवरण माग गरेका थिए।

“इमेल पौने पाँच बजे आएको थियो, त्यसपछि हामीले पाँच मिनेटमै आवश्यक सबै कागजातहरूको विवरण पठाइसक्यौं,” प्रवक्ता ठाकुरले जानकारी दिए।
नेपाल सरकारले हालै सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई चरणबद्ध रूपमा नियन्त्रण गर्ने नीति अघि सारेको छ। सोही निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिइसकेको छ।

सरकारको यो कदमलाई केहीले डिजिटल स्पेसमा नियमनको सकारात्मक प्रयासका रूपमा हेरेका छन् भने केहीले अभिव्यक्तिको स्वतन्त्रतामा असर पर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यो विषयमा बहस तीव्र भएको छ।
नेपालमा सेवा प्रवाह गर्दै आएका ठूला प्रविधि कम्पनीहरूलाई स्थानीय स्तरमा कानुनी दायरामा ल्याउन सरकारले उठाएको यो कदम अब कार्यान्वयनको चरणमा पुगेको छ।






