काठमाडौं,१९ भदौ । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय बनाउने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय बैठकले तोकिएको समयसीमाभित्र सूचीकरण प्रक्रिया पूरा नगर्ने सामाजिक सञ्जालहरूलाई बन्द गर्ने निर्णय लिएको हो।

मन्त्रालयका अनुसार विगतमा एक साताको समयसीमा दिइए पनि ती प्लेटफर्महरूले आवश्यक प्रक्रिया पूरा नगरेको हुँदा नियमनबाहिर रहेका सामाजिक सञ्जाललाई आज (भदौ १९) देखि लागू हुने गरी निष्क्रिय पार्ने निर्णय गरिएको हो।
बैठकमा मन्त्रालयका उच्च अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, र प्रविधि क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
सञ्चार मन्त्रालयले यसअघि फेसबुक, एक्स (पूर्व ट्विटर), टिकटक, इन्स्टाग्राम लगायतका २६ वटा सामाजिक सञ्जाललाई नेपालमा सञ्चालन गर्नका लागि सूचीकरण प्रक्रिया पूरा गर्न अनुरोध गरेको थियो। तर, तोकिएको समयसीमाभित्र प्रक्रिया पूरा नगरेकाले ती प्लेटफर्महरूमाथि कारवाहीको निर्णय लिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका एक अधिकारीका अनुसार, ‘‘सरकार सामाजिक सञ्जाल नियमन गर्ने उद्देश्यले अघि बढेको हो। सूचनाको दुरुपयोग, साइबर सुरक्षाको जोखिम तथा सामाजिक सद्भावमा पर्ने प्रभावलाई न्युनिकरण गर्नका लागि सूचीकृत प्रणाली आवश्यक छ।’’
यस निर्णयअनुसार नेपालमा आजदेखि ती २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोगमा आउन नसक्नेछन्।






