काठमाडौँको गोङ्गबुबाट बरामद भएको रकम ४ करोड बढी रहेको पुष्टि भएको छ। प्रहरीले मंगलबार रातिसम्म गरेको गणनामा ४ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
गोरखाको गोरखा नगरपालिका-६ बसपार्क स्थाई घर भएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठको गंगबुस्थित घरमा नगद र सुन रहेको जानकारी पछि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ जिल्ला प्हरी परिसरको संयुक्त टोलीले छापा मारेको थियो।

काठमाडौँ महानगरपालिका-२६ गोङ्गबुस्थित श्रेष्ठको घरमा अवैध रुपमा लुकाएर राखिएको नगद र सुन प्रहरीले बरामद गरेको थियो। श्रेष्ठको घरबाट ९ किलो ३९ ग्राम सुनका गहना बरामद भएको थियो। यस्तै ३ किलो २१ ग्राम चाँदीका गहना पनि प्रहरीले बरामद गरेको छ।
यी गहना धितोमा राखेर उनले मिटरब्याजमा रकम दिएको खुलेको छ। उनले आफ्नो घरको बैठक कोठामा यो नगद र गहना लुकाएर राखेका थिए।
श्रेष्ठलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ। उनलाई थप अनुसन्धानका लागि आज बुधबार अदालतमा उपस्थित गराएर म्याद लिने प्रहरीको तयारी छ।






