राजविराज, भदौ २ । इम्बोस्ड नम्बर प्लेट तत्काल लागू नगर्न माग गर्दै नेपाल कमर्शियल आर्टिष्ट संघ, सप्तरीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

संघले इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सरकारको निर्णयलाई असम्बैधानिक, अव्यवहारिक र आम नेपाली जनताको भावना विपरीत भएको बताएको छ।

ज्ञापनपत्रमा भनिएको छ कि इम्बोस्ड नम्बर प्लेटको लागू प्रक्रिया संविधानको धारा ३२(१) को विपरित रहेको छ भने यसले नेपाली मौलिकता, संस्कृति र आर्थिक अवस्थालाई बेवास्ता गरेको आरोप लगाइएको छ। साथै, संघले लामो समयदेखि नेपालको सडकमा चल्दै आएका सवारी साधनमा गरिएको कलाकारितामाथि पनि यस निर्णयले गम्भीर असर पार्ने जनाएको छ।

संघका अनुसार हाल नेपालमा इम्बोस्ड नम्बर प्लेट उत्पादन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विदेशी कम्पनीलाई दिइएको छ, जुन प्रक्रिया पारदर्शी र राष्ट्र हितअनुकूल नभएको आरोप लगाइएको छ। यस्तै, संघले सरकारले स्वदेशी उत्पादन र दक्ष जनशक्तिको प्रयोग गर्दै स्वदेशमै इम्बोस्ड प्लेट उत्पादनको व्यवस्था गर्नुपर्ने माग पनि राखेको छ।

नेपाल कमर्शियल आर्टिष्ट संघले ज्ञापनपत्रमा उल्लेख गर्दै चेतावनी दिएको छ कि जनभावनाविपरीत जबरजस्ती इम्बोस्ड नम्बर प्लेट लागू गर्ने प्रयास भए त्यसको विरोधमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेपाल कमर्शियल आर्टिष्ट संघका सप्तरी जिल्ला अध्यक्ष राम नारायण मण्डलको नेतृत्वमा संघका उपाध्यक्ष धुरन सरदार,सचिव उदय शंकर विश्वकर्मा, कोषाध्यक्ष बिनोद चौधरी, सदस्य शिव नारायण चौधरी, भोला राम, देवानन्द चौधरी, विजय चौधरी र रामानन्द चौधरी लगायतकाले आज प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर