काठमाडौ, भदौ १० गते । माइतीघरमा जारी उखु किसान आन्दोलनप्रति बलरा नगरपालिका, सर्लाहीका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले ऐक्यबद्धता जनाउँदै सक्रिय साथ र सहयोग रहने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।
आन्दोलनको दोस्रो दिन काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुँदै नगरप्रमुख कुशवाहाले किसानको पीडा राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

“किसान देशको मेरुदण्ड हुन् । उनीहरूको हकअधिकार र न्यायोचित माग सुन्ने, बुझ्ने र समाधान गर्ने दायित्व राज्यको हो । किसानलाई ओझेलमा राखेर देश समृद्ध हुन सक्दैन, त्यसैले बलरा नगरपालिकाको तर्फबाट हामी आन्दोलनलाई पूर्ण समर्थन गर्दछौं,” कुशवाहाले भने । उनले उखु किसान आन्दोलनलाई सबल र प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
“किसानको माग अन्तिम निष्कर्षमा नपुगेसम्म हाम्रो सक्रिय साथ, सहयोग र सहभागिता रहनेछ,” भन्दै उनले सम्पूर्ण किसान र आन्दोलनमा साथ दिने समर्थकहरूलाई हार्दिक आभार व्यक्त गरे ।
नगरप्रमुख कुशवाहाले किसानहरूको सहभागितामै विभिन्न बालीहरूको मूल्य निर्धारण गर्नुपर्ने र वर्षैपिच्छे आन्दोलन गर्न नपर्ने वातावरण बनाउन सरकारलाई आग्रह पनि गरे ।
बलरा नगरपालिकाले किसान आन्दोलनप्रति देखाएको यो स्पष्ट समर्थनले देशभरका किसानहरूलाई थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ ।






