सर्लाही, भदौ ६ गते । लामो समयदेखि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपनि पार्टीको केन्द्रिय नेतृत्वको बचाउका कारण पदमा बसेका नेपाली काङ्ग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले अन्ततः शुक्रवार पदबाट राजिनामा दिएका छन् ।
सिंहले केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र दिएका हुन् ।


मनुसमरा सिँचाइ आयोजना अन्तर्गत रुख कटान प्रकरणमा उनी २०७१ पुस २५ गते विशेष अदालतबाटै भ्रष्टाचारी ठहरिएका थिए । तर उनी निरन्तर सर्वोच्च अदालतको पुनरावेदन र पार्टीभित्रको जालझेलमार्फत सभापतिको पदमा टिकिरहे । करिब १० वर्षसम्म मुद्दा अल्झाएर आफूलाई निर्दोष साबित गर्ने प्रयत्न गरेका सिंह अन्ततः सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले २०८० फागुन १५ गते सिंहविरुद्ध परेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट समेत उनी दोषी ठहरिएका थिए ।
सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सजाय कम भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो । त्यसपछि सिंहले सो फैसलामाथि पुनरावेदन गरे । तर सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले दुवै दावी खारेज गर्दै विशेष अदालतको फैसलालाई नै कायम राख्यो । यससँगै सिंह कानुनी रूपमा पनि भ्रष्टाचारी प्रमाणित भए ।
सर्लाही जिल्लामा नेपाली काङ्ग्रेसको इतिहासमा सबैभन्दा लज्जास्पद पक्ष भने भ्रष्टाचारी ठहरिएका सिंहकै बचाउमा केन्द्रका शीर्ष नेताहरू लागेको थिए । तर जिल्लाका स्थानीय नेता तथा कार्यकर्ताहरूले पटकपटक केन्द्रिय कार्यालयमा आन्दोलन गर्दै पार्टीको विधान अनुसार उनलाई निष्कासनको माग गरे पनि केन्द्रीय तहबाट जोगाइएका कारण उनले आजसम्म पदमै टिकिरहन सम्भव भएको थियो ।
पार्टीको छवीलाई समेत धुमिल पार्दै भ्रष्टाचारमा दोषी ठहरिएका सिंह लामो समयसम्म सभापति पदमा बसेको उदाहरण स्वयं उनी आफै बनेका छन् ।
अन्ततः उनले आज राजीनामा पत्र बुझाउँदै आफू अन्यायको शिकार भएको दाबी गरे । तर उनले दिएको अभिव्यक्ति कार्यकर्ताको दृष्टिमा “भ्रष्टाचार ढाकछोप गर्ने अन्तिम प्रयत्न मात्र” ठानिएको छ । पार्टीभित्र व्यापक आलोचना खेपिरहेका सिंहलाई अन्ततः कानुनी बाध्यताले मात्र पदबाट हटाएको हो, नैतिकताले होइन भन्ने टिप्पणी कार्यकर्ताहरूको रहेको छ ।
अब काङ्ग्रेस विधान अनुसार उपसभापति डा. सरोज कुमार कार्यवाहक सभापतिको भूमिकामा आउने भएका छन् । सर्लाही काङ्ग्रेसमा सिंहको पतनले नयाँ शक्ति समीकरण सिर्जना गर्ने निश्चित छ । तर स्थानीय नेता तथा कार्यकर्ताहरूले भने, “भ्रष्टाचारलाई पार्टीले ढाकछोप गर्ने संस्कार अन्त्य नगरेसम्म सर्लाहीमा काङ्ग्रेस शुद्धिकरण सम्भव छैन ।”






