सर्लाही, साउन २६ गते । बलरा नगरपालिका- ११ नम्बर वडाकी जननिर्वाचित दलित महिला सदस्य एवं समाज परिवर्तनकी निडर सिपाही तथा सेवाभावको प्रतिमूर्ति चन्दा देवी बैठाको सडक दुर्घटनामा परी दुःखद निधन भएको छ ।

 

शुक्रबार सडक दुर्घटनामा परेकी चन्दा देवी बैठालाई नगर अस्पतालमा प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल मलंगवा रेफर गर्ने क्रममा ड्युटीमा रहेका एम्बुलेन्स चालक रामाशंकर महतोले “डिजल छैन, एम्बुलेन्स सुचारु छैन” भन्दै गैरजिम्मेवार व्यवहार देखाएको नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले बताएका छन् । उनले यस्तो कार्य अक्षम्य लापरवाही भएको भन्दै सम्बन्धित चालकलाई कारबाही गर्दै तत्काल काममा नलगाउने निर्देशन दिइएको र घटनाको सत्यतथ्य छानबिन गर्न वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा समिति गठन गरि ७ दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइसकिएको बताए ।

 

नगर प्रमुख कुशवाहाले, उहाँको मृत्यु जनप्रतिनिधिको मृत्यु मात्र नभई यस समाजले न्याय र समानताको सशक्त आवाज गुमाएको उल्लेख गर्दै स्वास्थ्य सेवामा कुनै किसिमको लापरबाही स्वीकार नहुने बताएका छन । स्वास्थ्य सेवामा कुनै पनि बहानामा मानव जीवनप्रति लापरवाही स्वीकार्य नहुने स्पष्ट पार्दै, भविष्यमा यस्ता पीडादायी घटना दोहोरिन नदिन आधारभूत स्वास्थ्य सुविधा अझ व्यवस्थित र सबल बनाइने अठोट समेत उनले व्यक्त गरेका छन् ।

 

नगर प्रमुखको नेतृत्वमा प्राथमिक स्वास्थ्य केन्द्रलाई “बलरा नगर अस्पताल” मा स्तरोन्नति गर्दै पुरानो भवनको रेट्रोफिटिङ, आधुनिक सुविधा सम्पन्न दोस्रो तला निर्माण, लामो समयदेखि अवरुद्ध बर्थिङ सेन्टर पुनः सञ्चालन, ल्याब सेवाको डिजिटलाइजेशन, आकस्मिक उपचार कक्ष स्थापना, औषधि व्यवस्थापन सुदृढीकरण, थप ३ मेडिकल अधिकृत र थप १ एम्बुलेन्स चालक नियुक्ति गरि २४ घण्टा अस्पताल र एम्बुलेन्स सेवा सुनिश्चित गर्न महत्वपूर्ण कार्यहरु सम्पन्न भइसकेको छ । तर अपेक्षित सुधार नदेखिएपछि करिब १० दिनअघि अस्पतालका ६०% कर्मचारी हेरफेर गरिएको र त्यसपछि सेवामा सुधार देखिन थालेको नगर प्रमुख कुशवाहाले जानकारी दिए ।

 

महिला सदस्य चन्दा देवी बैठाको मृत्युप्रति नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति संवेदना व्यक्त गरेका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर