सप्तरी, १४ साउन । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमी सम्वन्धी विधेयक अगाडि बढाए मधेसमा जनविद्रोह हुने बताएका छन् । सप्तरीको राजबिराजमा बुधबार जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भुमि सम्बन्धि विधेयक फिर्ता नलिए मधेसमा जनबिद्रोह गर्ने चेतावनी दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचान रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुने बताए । उनले वन विनास, चुरे उत्खनन् तथा पहाडका वासिन्दालाई मधेशमा भूमाफियाहरुलाई अवैध वसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन आग्रह गरे ।

सरकारको गलत नीतिका कारण मधेश मरूभूमिकरणतर्फ उन्मुख भएको आरोप लगाउँदै अध्यक्ष यादवले मधेशमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै सङ्कटमा परेकोले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गरेका छन् ।
उनले मधेसमा पानीको जलस्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘जमिनको सतहमा पानी कायम राख्नुको मूल आधार नै चुरे हो, उनले भने,”बसोबासको नाममा वन फडानी गरी बसोवास चुरेको संरक्षण नगरिए मधेशको भूमि मरुभूमि हुनेछ ।’
जनसङ्ख्याको आधारमा बजेट ल्याउन माग गर्दै उनले भने ‘४० प्रतिशत जनसङ्ख्यालाई ८९ प्रतिशत र मधेशको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, यो भन्दा ठूलो विभेद के हुनसक्छ ।’ अध्यक्ष यादवले भने,
जबर्जस्ती लादिएको संविधानले देशको हित नहुने भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले गलत संविधानकै कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्था पनि बदनाम भएको दावी गरे ।
संसद खरिदबिक्री, योजना बिक्री तथा कमिशनको खेल हुने गरेको चर्चा गर्दै संविधान संशोधन वा पुनर्लेखन गरेर जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, निर्वाचन प्रणाली, जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरु राख्नुपर्नेमा उनले जोड दिए ।
प्रदेशलाई अझैं पनि अधिकार नदिएका कारण अपेक्षा अनुसार जनताको काम गर्न नसकेको बताउँदै जसपा अध्यक्ष यादवले भने ‘प्रदेश सरकारलाई न त अधिकार दिएको छ, न पुलिस छ न कर्मचारी, प्रदेशहरुलाई अधिकारविहिन बनाईएको उल्लेख गरे ।

पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेकपा माओवादीका केन्द्रिय सदस्य सूर्यनाथ यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका डम्बर साह, समाजवादी लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, जनमत पार्टीका जिल्ला ईञ्चार्ज रामगमन साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मधेश प्रदेशका प्रवक्ता मनोज कुमार मण्डल, जसपा नेपालका मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादवले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष श्रवण कुमार देव, एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, राप्रपाका प्रदेश प्रबक्ता मनोज कुमार मण्डल, समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रविलादेवी साह, समाजवादी विद्यार्थी संघ सप्तरीका अध्यक्ष श्याम कुमार यादव, अधिबेशन प्रचारप्रसार समिति संयोजक निलेश कुमार झा, आर्थिक समिति संयोजक बृजमान तामाङ, स्थान व्यवस्थापन समिति संयोजक अरुण कुमार यादव लगायतले समेत शुभकामना मन्तब्य व्यक्त गरे ।
जिल्ला सचिब हरेराम यादवद्वारा संचालित कार्यक्रम स्वागत उपाध्यक्ष हरेराम यादवले गरे । कार्यक्रममा मधेश आन्दोलनका सहिद परिवारलाई सम्मान गरिएको थियो ।
पार्टीको जिल्ला अधिवेशन साउन १४, १५ र १६ गते गरि तीन दिनसम्म चल्ने जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिएका छन् । अध्यक्ष पदका लागि हालका अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेश प्रसाद यादव र हरेराम यादव चर्चामा छन् ।







