सर्लाही, साउन ११ गते । देशको समृद्धि र अन्न भण्डारको रुपमा चिनिने तराई–मधेश आज एक भयावह प्राकृतिक संकटको चपेटामा छ । बलरा नगरपालिका सर्लाहीका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै एक मर्मस्पर्शी खुला पत्र लेख्दै भनेका छन् – “तराई सुकिरहेको छ, सरकार! अब घोषणा मात्र होइन, पानी र राहत चाहिएको छ ।”

साउन महिनाको मध्यतिर पुग्दासमेत वर्षा नभएपछी तराईका इनार, ट्युबवेल र कुँवा सुक्दै गएका छन् । खेतबारीमा अन्न अंकुरिन हुन सकेको छैन । जनस्वास्थ्यमा संकट देखिन थालेको छ । नगर प्रमुख कुशवाहाले यो अवस्थालाई ‘सुख्खा विपत्ति’ को रुपमा व्याख्या गर्दै सरकारसँग तुरुन्त व्यवहारिक कदम चाल्न आग्रह गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, “मधेशमा वर्षा नहुँदा प्यासले छटपटिएका जनता, बन्जर खेत र सुकिरहेका जलस्रोत केवल मौसमको ‘असहजता’ होइन, यो पूर्णरूपमा प्राकृतिक आपत हो ।”

नगर प्रमुख कुशवाहाका प्रमुख पाँच मागहरू यसप्रकार रहेको छ ।

१. तत्काल राहत घोषणा- सुख्खाबाट प्रभावित क्षेत्रलाई लक्षित गर्दै तुरुन्त राहत कार्यक्रम लागू गर्नुपर्ने ।

२. निःशुल्क पानी वितरण केन्द्र- पिउनलाई समेत पानी अभाव भएको अवस्थामा प्रत्येक वडामा पानी वितरण केन्द्र स्थापना गरिनुपर्ने ।

३. खडेरी राहत कोष- विपन्न र दैनिक श्रमिक परिवारलाई लक्षित गर्दै खडेरी राहत कोषबाट आर्थिक सहायता उपलब्ध गराउने ।

४. आपतकालीन सिंचाइ उपाय- ट्यांकर, वैकल्पिक जलस्रोत र सिँचाइ साधनमा आपतकालीन रणनीति अवलम्बन ।

५. मोबाइल स्वास्थ्य टोली- जनस्वास्थ्य संकट न्यूनीकरण गर्न स्वास्थ्य टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।

“मधेश कहिले सुक्छ, कहिले बग्छ- कसरी जिउँने ?”

पत्रमा नगर प्रमुखले विगत वर्षहरूमा मधेशले झेलेका बाढी, शीतलहर र हालको सुख्खा संकटबारे स्मरण गराउँदै लेखेका छन्, “मधेशमा शीतलहर आउँदा मरिन्छ, बाढी आउँदा बगिन्छ र अहिले वर्षा नहुदा सुख्खा छ ।” यस्ता समस्या पटक–पटक दोहोरिए पनि स्थायी समाधानतर्फ राज्यको ध्यान पुग्न नसक्नु दुःखद भएको उनको भनाइ छ ।

नगर प्रमुख कुशवाहाले सरकारको समावेशिता, सामाजिक न्याय र संवेदनशील नेतृत्वमा विश्वास व्यक्त गर्दै भनेका छन्- “यो गुनासो होइन, जनताको आवाज हो ।” उनले सरकारसँग कागजी घोषणा मात्र होइन, ठोस र तत्क्षण कार्यान्वयनको अपेक्षा गरेका छन्।

तराई–मधेशको भूमिमा अहिले पानी ‘अधिकार’ होइन, ‘भाग्य’ बनेको छ । संकट टार्न अब राज्यको हस्तक्षेप र संवेदनशीलता आवश्यक छ । बलरा नगर प्रमुखको खुला पत्रले यिनै पीडा, आवाज र आवश्यकताहरूको प्रतिनिधित्व गरेको छ । जुन अब नजरअन्दाज गर्न नसकिने चरणमा पुगेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर